प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
शनिवार काभ्रेको तेमाल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देवाले देश स्थानीय निवार्चनको सँघारमा रहेकोले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न काभ्रेमा आएका प्रधानमन्त्री देउवाले मुलुक स्थानीय निर्वाचनको संघारमा रहेको भन्दै यसका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक पर्ने समेत बताए ।
तेमाल गाउँपालिका तामाङ संस्कृतिको उद्गगमस्थलको रुपमा रहेकोले भकुन्डे मेच्छे सडक, तेमालको बृहत् खानेपानी र पर्यटकीय विकासमा सरकारको सहयोग रहने प्रतिबद्द्ता जनाएका थिए । नवनिर्मित प्रशासकीय भवनबाट जनतलाई दिने सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका सभापति तीर्थ लामाले नेपाली काँग्रेसको नेतृत्वमा मात्रै बिकास सम्भव रहेको बताएका थिए । लामाले तेमाल सम्भावनाको क्षेत्र भएको जानकारी दिदैं स्थानीय विकास निर्माणमा सघाउन कांग्रेस सभापतिको प्रतिबद्धता खोजेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र काभ्रे इन्चार्ज सूर्यमान दोङले अहिलेको गठबन्धन स्थानीय तहमात्रै सीमित नरही प्रदेश र संघीय निर्वाचनसम्म कायम रहनुपर्ने बताए ।
तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले गाउँपालिकाको समृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको बताएका थिए । यसका लागि उनले प्रधानमन्त्रीसँग स्थानीय विकासका लागि सहयोग आवश्यक रहेको बताएका थिए । भकुण्डे–मेच्छेपौवा सडक, बोहोरेदोभान सडक कालोपत्रे गर्न, सरकारी अस्पताल निर्माण गर्न, कृषि तथा बाली विज्ञान पढाइ गर्न, वौद्ध विश्वविद्यालय, भ्यूटावर र तामाङ संग्रहालय निर्माण गर्न प्रधानमन्त्रीसँग सहयोगको अपेक्षा गरेका थिए ।
तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले सञ्चालन गरेको कार्यक्रममा तेमाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ज्ञानबहादुर तामाङले स्वागत मन्तब्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस