बनेपाको रेयूकाई एइको मासुनागा आँखा अस्पतालले ढल्केवरमा आँखा अस्पताल खोलेको छ ।
मंगलबारबाट अस्पतालमा औपचारिक उपचार सेवा सुरु भएको छ । धनुषाको ढल्केवरमा तीन करोड रुपियाँको लागतमा सुविधा सम्पन्न भवन सहित आँखा अस्पताल सञ्चालनमा आएको रेयूकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हिरामनी शर्माले जानकारी दिए ।
मंगलवार बाट सञ्चालनमा आएको अस्पतालको बुधबार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ॲाखा अस्पताल अवलोकन गरेका छन् ।
चालिस शैय्याबाट सुरु गरिएको सो अस्पतालमा मोतीबिन्दु, जलबिन्दु, मासु बढेको लगायत आँखासम्बन्धी सबै रोगको उपचार तथा शल्यक्रिया हुनेछ । अस्पतालमा दुई करोड रुपियाँभन्दा बढीको अत्याधुनिक उपकरण जडान गरिएको र थप उपकरण व्यवस्थापन गर्ने कार्य भइरहेको महासचिव शर्माको भनाई छ । अस्पताल भवन निर्माणको लागि स्थानीय समाजसेवी राजाराम महतोले दानमा ६ कठ्ठा जग्गा उपलब्ध गराएका थिए ।
तराईवासीलाई सहज आँखाको उपचार प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको अस्पतालमा नेत्ररोग विशेषज्ञ टोली रहने र आँखाका सबै उपचार सेवा उपलब्ध हुनेछन् । मधेस प्रदेशको मध्यभाग तथा मित्रराष्ट्र भारतको सीमादेखि केही दूरीमा अस्पतालले सेवा सुरु गरेको छ ।
अस्पतालको तीन वर्षअघि डोली इन्टर्मड इन्टरनेशनल न्यूयोर्कका अध्यक्ष स्कट र्यामिलटनले शिलान्यास गरेका थिए । भवनमा सेवा सुरु भएपनि केहि समय पछि औपचारिक रुपमा भवन उद्घाटन गरिने महासचिव शर्माको भनाई छ ।
अस्पताल सुरु भएको उपलक्ष्यमा तीनसय जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरेको छ । जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट छानिएर आएका मोतिबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस