जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको पहलमा जिल्ला स्थित रहेका सुरक्षा निकायहरुले विपद् व्यबस्थापन सम्बन्धी कार्य गर्ने तालिम प्राप्त सुरक्षाकर्मीहरुबाट दैवि प्रकोप एवं विपद् बारे सयुक्त अभ्यास गरिएको छ ।
धुलिखेलको फुटबल ग्राउण्डमा भएको अभ्यासमा विपद व्यवस्थापन कार्य संचालनका विभिन्न कलाहरुलाई सामुहिक रुपमा सञ्चालन तथा उद्धारका निमिक्त सुरक्षा कर्मी हमेसा तयारी अवस्थामा रहनुपर्ने बारे अभ्यास देखाईएको थियो । विपद् व्यवस्थापनका लागि उद्धारका सामाग्री तथा अग्नि नियन्त्रणका लागि गर्नु पर्ने पूर्व अभ्यास, भूकम्प पछि पुरिएका नागरिकहरूको सकुशल उद्धारको अभ्यास देखाइएको थियो । साथै ग्यासको सिलिण्डरबाट आगलागी हुँदा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा पनि अभ्यास गराइएको थियो ।
कालिजंग गण, धुलिखेलको आयोजनामा जिल्ला प्रहरी कार्यालय धुलिखेल, शसस्त्र प्रहरी बल १५ नं. गण पाँचखाल र नेपाल रेडक्रश सोसाईटी बनेपा को सहकार्यमा आयोजना भएको कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ, धुलिखेल नगरका उप प्रमुख बिमला शर्मा, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, कालीजंग गणका गणपति कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, सशस्त्र प्रहरीका एसपी सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख एसपी नगेन्द्र दाहाल, वडा अध्यक्षहरू, कार्यालय प्रमुखहरू, विद्यार्थीहरू, रेडक्रसकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्याक्रममा धुलिखेल नगरका नगर प्रमुख अशोक व्याञ्जुले यस्ता किसिमका संयुक्त अभ्यासबाट जिल्ला स्थित विपद व्यवस्थापन कार्य संचालन गर्ने सुरक्षा फौजहरुमा उद्धार सम्बन्धी कलामा पुनर्ताजगी भई सदैव तयारी अवस्थामा रही विपदको समयमा जनताको जिउँ धनको सुरक्षामा व्यवसायिकता प्रस्तुत गर्न उल्लेख्य भुमिका निर्वाहा गर्ने बताए । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आगलागी तथा भुकम्पको समयमा सुरक्षा फौजको भुमिकाको चित्रण गर्दै काभ्रे जिल्ला केन्द्रित विविध दैवी प्रकोपको घटनाहरु संवद्ध संयुक्त उद्धार कार्यहरुको अभ्यास कार्यक्रम समेत आउँदा दिनहरुमा आयोजना गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस