जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तह र अर्ध न्यायिक निकायमा भएका समस्याका बारेमा सरोकारवालाहरुसँग छलफल आयोजना गरेको छ ।
प्रशासन कार्यालयले १३ पालिकाका न्यायिक समिति संयोजक, सहजकर्ता तथा सदस्यहरू र अर्धन्यायिक निकायका प्रमुखहरूसँग स्थानीय तह र अर्ध न्यायिक निकायमा भएका समस्याका बारेमा सरोकारवालाहरुसँग छलफल गरेको हो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले अर्ध न्यायिक निकायको न्यायिक कार्य सम्पादनः अवधारणा र अभ्यासका बारेमा, जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेतले न्यायिक विषयमा न्यायिक समिति र अर्ध न्यायिक निकायको भूमिका र अधिकार क्षेत्रका बारेमा, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले न्यायिक कार्यसम्पादन, शान्ति, सुरक्षा एवं स्थानीय पालिका र प्रहरी बीचको समन्वयका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलका क्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, मण्डन देउपुर नगरपालिका उपप्रमुख निर्मला शाही, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा, पनौती नगरपालिका उपप्रमुख गीता बन्जारा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, तेमाल गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, खानिखोला गाउँपालिका उपाध्यक्ष रुकमणी गुरुङ्ग, रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला लगायतले स्थानीय तहमा भएको न्यायबारे आ आफ्नो अनुभव बताएका थिए ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश मोहन भट्टराईले न्यायिक समितिका संयोजक र अर्ध न्यायिक निकायका प्रमुखहरूलाई निष्पक्ष, पारदर्शिता, सक्षमता र निर्भीकताका साथ काम गर्न अनुरोध गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कानुनको माध्यमबाट समतामूलक समाज निर्माण गर्न न्यायिक समिति र अर्धन्यायिक निकायले विशेष चासो र ध्यान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा मालपोत कार्यालय काभ्रेका प्रमुख नवीन अधिकारी, नापी कार्यालय, बन कार्यालय, पत्रकार लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस