निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने जनाएको छ ।
आइतबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमार्फत् आगामी वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुको संख्या करिब १ करोड ८० लाख भएको आयोगले जानकारी दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २०७४ को निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम रहेको थियो । जसले पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको देखिन्छ । यो संख्या एक वर्षअघि अर्थात २०७७ पुस ५ गतेलाई कायम गर्दा १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता हुने थिए ।
वैशाख २९ लाई कट अफ डेट मान्दा २ लाख मतदाता थपिने आयोगको अनुमान छ । संविधान तथा कानुनमा भएको व्यवस्था बमोजिम आयोगले अन्तिम मतदाता नामावली तयारी गर्ने, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्ने काम आयोगले गर्ने जनाएको छ ।
यस्तै निर्वाचन सञ्चालनका लागि जनशक्तिको आकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचन सम्बन्धी प्रचारप्रसार गर्ने, मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचय पत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्ने लगायत क्रियाकलाप समावेश गरी निर्वाचन कार्यतालिका समेत स्वीकृत गरिसकेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस