नेपाली काँग्रेस काभ्रेले फागुन १ देखि ७ गतेसम्म वडा स्तरमा संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।
नेपाली काँग्रेसको १४ औं तथा काभ्रेको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठकले फागुन १ देखि ७ गतेसम्म वडा स्तरमा संगठन विस्तार र सदस्यता वितरण तथा १ सय ३५ वटै वडामा भातृ संस्था तथा काँग्रेसको टोल समिति गठन गर्ने निर्णय गरेको जिल्ला सचिव गुणराज मोक्तानले जानकारी दिए ।
त्यस्तै संगठनलाई सुदृढ र चलायमान बनाउने अभियान अन्तर्गत आगामी माघ २९ गते बनेपामा १३५ वटै वडा सभापति र १३ वटा पालिका सभापति सहभागी हुने गरी एक दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने पनि नेपाली काँग्रेस काभ्रेका सचिव मोक्तानले जानकारी दिए ।
यो अभियानका लागि सम्बन्धित वडाबाट गाउँ-नगर कार्यसमिति, प्रदेश सभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि, जिल्ला एवं प्रदेश कार्यसमितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य एवं प्रतिनिधिहरू सक्रिय सहभागि हुनु पर्ने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस