कोभिडको तेस्रो लहरले कर्मचारीहरुमा संक्रमण फैलिएसँगै काभ्रेका आधा पालिका तथा सरकारी कार्यालयहरुले आफ्ना सेवा स्थगित गरेका छन् ।
काभ्रेका धुलिखेल, रोशी नमोबुद्ध, भुम्लुले आफ्नो सेवा स्थगित गरेका छन् भने धेरै भिडभाड हुने जिल्ला प्रशासन, जिल्ला अदालत र मालपोत कार्यालयको सेवा समेत स्थगित भएको छ ।
जिल्लामा पछिल्ला दिनमा संक्रमण दर धेरै नै बढेको छ । पछिलो ५ दिनको तथ्याङ्क हेर्ने हो भने पनि जिल्लामा कोरोना दर बढ्दो छ । आज ३ सय १३ जनाको परीक्षण भएकेमा १ सय ९८ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै हिजो ४ सय ७ जनाको परीक्षण भएकोमा १ सय ३८ जनामा पोजेटिभ, शनिबार ४७ जनाको परीक्षण गरिएकोमा १७ जनामा पोजेटिभ, शुक्रबार ५ सय ८९ को परीक्षण गरिएकोमा १ सय ८४ जनामा पोजेटिभ तथा गत विहिबार ६ सय ४५ जनाको परीक्षण गरिएकोमा २ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
जिल्लामा हाल १४ सय ५३ जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढि बनेपा नगरपालिकामा ४ सय ७७, धुलिखेल नगरमा ४ सय ४५, पनौतीमा २ सय १७, नमोबुद्ध नगरमा ७६, पाँचखाल नगरमा ७२ जना, चौरीमा ३८, रोशीमा २३, मण्डनमा ३६, तेमालमा १०, भुम्लुमा ३४, बेथानचोकमा ११, महाभारतमा १४ जना सक्रिय संक्रमित छन । खानीखोलामा भने शुन्य संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले माघ ७ गते सूचना प्रकाशन गर्दै माघ १४ गतेसम्म नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता, संघ संस्था तता हात हतियार सम्वन्धी कार्यहरू, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्रको सेवा स्थगित गरेको हो ।
जिल्ला अदालत काभ्रेपलान्चोकले माघ ७ गतेको पूर्ण बैठकबाट माघ ९ गते देखि २० गतेसम्म सेवा स्थगन गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवा बाहेक अदालतले सबै प्रकृतिका मुद्दाहरूमा आदेश बमोजिम हुने बकपत्रका कार्यहरू र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२३ नम्बर बमोजिम गरिने बयान कार्यहरू स्थगित गरिएको जिल्ला अदालत काभ्रेपलान्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
मालपोत कार्यालय काभ्रेपलान्चोकले माघ १० गते सोमबार देखि माघ १४ गते शुक्रबारसम्मलाई सेवा स्थगन गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै मालपोत कार्यालय काभ्रेले उक्त निर्णय गरेको हो ।
त्यस्तै धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले सेवा सेवा स्थगितको सूचना प्रकाशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस