जिल्ला प्रशासन कार्यालय काभ्रेले कोरोना संक्रमण जोखिम रोकथामका लागि २६ बुँदे आदेश जारी गरेको छ ।
आज माघ ५ गते राती १२ बजेबाट लागू हुने गरी २६ बुँदे आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको हस्ताक्षरमा अर्को आदेश नभएसम्मका लागि २६ बँुदे आदेश जारी भएको हो । जारी भएको आदेशमा माघ मसान्तसम्म सभा, भेलाजस्ता भीडभाड हुने कार्यक्रम नगर्न, मठमन्दिर तथा धार्मिकस्थलमा नित्य पूजामात्रै सञ्चालन गर्न, यही माघ १५ गतेसम्म शैक्षिक संस्था भौतिकरूपमा सञ्चालन गर्न नपाइने, पठनपाठन भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाएर गर्नेलगायत बुँदा सो आदेशमा समाहित गरिएको छ ।
यस्तै माघ ७ गतेदेखि जिल्लाका सबै सार्वजनिक निकायमा सेवा लिन खोपको पूर्ण मात्रा लगाएको कार्ड देखाउनुपर्ने, सपिङ मललगायतमा भौतिक दूरी कायम गरी एक पटकमा २५ भन्दा बढी प्रवेश गर्न नपाइने, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसललगायत माघ १५ गतेसम्म बन्द गर्नुपर्ने आदेश जारी गरिएको छ ।
सार्वजनिक सवारीसाधनमा स्वास्थ्य प्रोटोकलमा कडाइ गरिएको छ । मास्क नलगाउने यात्रुलाई सहचालकले कम्तीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस