धुलिखेल/दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था (दूध कारोवार गर्ने कृषि, बहुमखी र बहुद्देश्यिय) हरुले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत ९ करोड ७४ लाख ५१ हजार ८१६ रुपैंया जिल्ला भित्र्याएका छन् । यो रकम अघिल्लो आर्थिक वर्षभन्दा ६ करोड ८२ लाख १७ हजार ३३ रुपैंयाले बढेर आएको छ । सहकारीमा आवद्ध किसानहरुलाई बाग्मती प्रदेश सरकारले दूध उत्पादनमा आधारित रही प्रति लिटर दुधमा ३ रुपैंया ५६ पैंसा अनुदान दिँदा यत्ति परिमाणमा रकम आएको हो । जिल्लाको एउटै सहकारीले ४४ लाख ६८ हजार ५१३ लिटर दुध संकलन गरेर १ करोड ५९ लाख २४ हजार ८८९ रुपैंया अनुदान ल्याउन सफल भएको दृष्टान्त पनि यस पटक बनेको छ ।
प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेको छ । यसै कारण स्थानीय तहले अनुदान दिएका चितवनका तीन नगरपालिकाका किसानलाई यस पटक अनुदान दिइएको छैन । भरतपुर महानगरपालिकाले प्रतिलिटर ३ रुपैंया, माडी नगरपालिकाले ४ रुपैंया र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएका छन् । यी नगरपालिकाका ७० वटा सहकारीका किसानलाई अनुदान दिन नमिल्ने व्यवस्थाले गर्दा अनुदानको रकम बढेर आएको हो । बाग्मती प्रदेश कृषि तथा पशुपंछी विकास मन्त्रालयमातहतको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयमा प्राप्त आवेदनहरुको आधारमा यस्तो अनुदान दिन थालिएको हो । यस पटक जिल्लामा उल्लेख्य रकम भित्रिनुका साथै सहकारीको संख्या बढेको र स्थानीय तह पनि थप भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. नितेश कार्कीले जानकारी दिनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत निर्देशनालयले आर्थिक वर्ष ०७९/८० मा तोकिएका शर्तहरु पुरा गरि आवेदन गरेका ५८ वटा सहकारीलाई अनुदान पाउन योग्य संस्थाका रुपमा छनौट गरेको हो । यस पटक ७ वटा सहकारी थप भएका छन् । यी ५८ वटै सहकारीहरुले २ करोड ७३ लाख ४४ हजार ९१७ लिटर दूधका लागि अनुदान माग गरेका थिए । विगतमा भन्दा यो पटक दूधको परिमाण पनि १ करोड ९ लाख ११ हजार ६५० लिटर बढेको छ । काभ्रेका १३ वटा स्थानीय तहमध्ये मण्डनदेउपुर, धुलिखेल, पाँचखाल, पनौती, बनेपा नगरपालिका, रोशी, बेथानचोक, भुम्लु र महाभारत गाउँपालिकामा रहेका सहकारीहरुले मात्रै यो अनुदान पाएका छन् । यस पटक भुम्लु र महाभारत थपिएको छ भने दुध उत्पादनमा अग्रणी स्थानीय तह नमोबुद्धका कुनै पनि सहकारी संस्थाले सहभागिता जनाएनन् ।
बाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको दुध उत्पादनमा आधारित अनुदान वितरण (सातौं संशोधन) कार्यविधिअनुसार दुध उत्पादक कृषकहरु सहकारीमा आवद्ध भएको हुनु पर्ने र सहकारी संस्थाले मासिक कम्तीमा १५ सय लिटर दूध संकलन गरेको हुनु पर्ने उल्लेख छ । यस अघि दैनिक न्यूनतम ३ सय लिटर दुध र विहान बेलुकी नै संकलन गरेको हुनुपर्ने शर्त राखिएको थियो । यस्तै, वार्षिक कम्तीमा २ सय दिन दुध संकलन गरेको र वार्षिक लेखा परीक्षणलगायतका सुशासनमा सबल हुनुपर्नेजस्ता विभिन्न १५ वटा मापदण्डहरु पुरा गरेका सहकारीहरुमात्रै छनौट अनुदान पाउन योग्य भएर छानिएका निर्देशनालयले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा पनौतीको ११ वटा सहकारीले ७७ लाख ३४ हजार ८३२ लिटर दुध संकलन गरेर २ करोड ७५ लाख ६५ हजार ३५३ रुपैंया अनुदान प्राप्त गरेका छन् । पाँचखालका १५ वटा सहकारीले ४७ लाख एक हजार ९५७ लिटर दुध संकलन गरेर एक करोड ६७ लाख ५६ हजार ८३४ रुपैंया प्राप्त गरेका छन् । मण्डन–देउपुर नगरपालिकाका २० वटा सहकारीले ४१ लाख ९७ हजार २५१ लिटर दुध संकलन गरेको आधारमा एक करोड ४९ लाख ५८ हजार ३०७ रुपैंया प्राप्त गरेका छन् । धुलिखेलका ४ वटा सहकारीले ३९ लाख ९७ हजार ५६५ लिटर दुध संकलन गरेर एक करोड ४२ लाख ४६ हजार ५२२ रुपैंया प्राप्त गरेका छन् । बनेपाको २ वटा सहकारीले २० लाख ३१ हजार ४७९ लिटर दूध संकलन गरेर ७४ लाख ५ हजार ७६९ रुपैंया, रोशी गाउँपालिकाको २ वटा सहकारीले २० लाख ५८ हजार २८९ लिटर दुध संकलन गरेर ७३ लाख ३५ हजार ३३० रुपैंया, बेथानचोकको २ वटा सहकारीले २० लाख ७८ हजार ५४ लिटर दूध संकलन गरेर ७४ लाख ५ हजार ७६९ रुपैंया अनुदान प्राप्त गरेको छ । महाभारतका एक वटा सहकारीले ४ लाख ८२ हजार ८४७ लिटर दूध संकलन गरेर १७ लाख २० हजार ७७० रुपैंया र भुम्लुको एक वटा सहकारीले ६२ हजार ६०३ लिटर दूध संकलन गरेर २ लाख २३ हजार १०४ रुपैंया अनुदान प्राप्त गरेको छ ।
जिल्लाभरमै सबैभन्दा बढी दुध संकलन गरेर अनुदान पनि सबैभन्दा बढी पाउने पनौती–२ स्थित लिलावती साना किसान कृषि सहकारी संस्था रहेको छ । सहकारीले ४४ लाख ६८ हजार ५१३ लिटर दुध संकलन गरेर १ करोड ५९ लाख २४ हजार ८८९ रुपैंया अनुदान ल्याउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा प्रथम भएको धुलिखेल–२ को सेतीदेवी दुग्ध उत्पादक सहकारी यस पटक २५ लाख ७० हजार २५७ लिटर दूध संकलन गरेर दोस्रो भएको छ ।
यस पटक सेतीदेवीले ९१ लाख ५९ हजार ८८२ रुपैंया अनुदान ल्याएको छ । रोशी गाउँपालिकाका नार्के दुग्ध उत्पादन सहकारीले ३७ लाख ६६ हजार ५९८ रुपैंया, बेथानचोकको आधुनिक कृषि सहकारीले ३७ लाख ५२ हजार ५८५ रुपैंया र बेथानचोककै नवप्रतिभा बहुद्देश्यिय सहकारीले ३६ लाख ५३ हजार १८४ र रोशीको घट्टेखोला दुग्ध सहकारीले ३५ लाख ६८ हजार ७३२ रुपैंया अनुदान ल्याएर उत्कृष्टमा परेका छन् ।
यस पटक निर्देशनालयले सहकारीमा पठाएको प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापतको रकम सहकारीले पनि सोझै किसानको खातामा जम्मा गर्नु पर्ने बाध्यकारी बनाएको छ । काभ्रेमा जिल्लास्तरिय दुग्ध उत्पादक सहकारी संघ एउटा सहित २ सय ७२ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरु क्रियाशील रहेका छन् । सुरुका दिनमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डिडिसी) मा दूध बेच्नकै लागि गठन भएका दुग्ध उत्पादक सहकारी संस्थाहरु बिस्तारै निष्कृय र खारेज हुन थालेपछि कृषि, बहुमुखी र बहुद्देश्यिय सहकारीले समेत दूध संकलनको काम गर्न थालेका छन् । यी सहकारीहरुले संकलन गरेको दुध किन्ने प्रमुख उद्योग भनेकै डिडिसी हो । प्रतिफलमा आधारित प्रोत्साहन अनुदान पाउनका लागि डिडिसीमै दुध खन्याएको हुनुपर्ने मापदण्ड प्रदेश सरकारको रहेको छ । निजीक्षेत्रका दुग्ध संकलन र दुग्ध उद्योगहरुले डिडिसीबाहेकमा दुध बेच्ने किसानलाई पनि अनुदानमा सहभागी बनाउनु पर्ने माग गर्दै आएका छन् । ~ पलाञ्चोक साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस