बेथानचोक/अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई बेथानचोक गाउँपालिकाले नगद रु १/१ लाख सहित सम्मान गरेको छ । गाउँपालिकाले तेक्क्वाण्डो खेलाडीद्वय विष्णु खत्री र रमिला लामालाई एक कार्यक्रमबीच सम्मान गरेको छ । दुवै खेलाडी गाउँपालिकाको वडा नं. ५ निवासी हुनुहुन्छ । तेक्वाण्डोका रेफ्रि समेत रहेका खेलाडी विष्णु खत्रीले थाइल्याण्डमा यही महिना सम्पन्न आठौँ हिरोज तेक्वाण्डो इन्टरनेशनल च्याम्पियनशिपमा ४० वर्ष मुनीको उमेर समूह पुम्सेमा स्वर्ण पदक तथा पुरुष ७० केजी तौल समूहमा रजत पदक जित्नु भएको थियो । यस्तै नेपाल पुलिस क्लबकी तेक्वाण्डो खेलाडी रमिला लामाले कोरियामा सम्पन्न देइगु वल्र्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वाण्डों च्याम्पियनसिपको पुमसे काताको ३० वर्ष मुनीको उमेर समूह अन्र्तगत सङ्नाम कोरिया ओपन अन्तराष्ट्रिय तेक्वाण्डो च्याम्पियनशिप २०२५ मा स्वर्ण पदक तथा दक्षिण कोरियामै सम्पन्न दशौं खुल्ला एम.वि.सी कप इन्टरनेशनल तेक्वाण्डो च्याम्पियनशिप २०२५ को सिनियरतर्फ ३० वर्ष मुनिको अन्तर्राष्ट्रिय स्पर्धामा यही महिना रजत पदक हासिल गर्नु भएको हो ।सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले खेलकुदका माध्यमबाट गाउँपालिकाको शिर उच्च बनाएकोमा खेलाडीहरुलाई बधाई व्यक्त गर्नुभयो । उहाँले सभ्य समाज र सभ्य संस्कारमा हुर्केको प्रतिभाको जहाँ पुगे पनि देश र माटोका लागि केही गर्न सक्छन भन्ने सावित भएको बताउनु भयो । गाउँपालिकाले युवा लक्षित विविध गतिविधि गरिरहेकाले गाउँपालिकाले ल्याएका योजनाहरुमा केन्द्रित रहन उहाँको आग्रह थियो । उपाध्यक्ष तारा राना तिमल्सिनाले पदक विजेता खेलाडीहरु गाउँपालिकाका गहना भएकै कारण उहाँहरुको सम्मान गरिएको बताउनु भयो । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष राजकुमार तामाङले विजेता खेलाडी दुवै वडा नं. ५ को भएको बताउँदै विजेताले वडा, गाउँपालिकालाई गौरवान्वित तुल्याएको बताउनु भयो । सम्मानले उर्जा थपेको पदक विजेता खेलाडीहरुको भनाई रहेको थियो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिना, २ का वडाअध्यक्ष पुरुषोत्तम तिमल्सिना लगायत विभिन्न व्यक्तिहरुले विजेता खेलाडीलाई बधाई दिनुभयो

प्रतिक्रिया दिनुहोस