काठमाडौं /नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित गरी ‘टिग नास आईटी एक्सपो २०२५’ आयोजना गरेको छ ।
विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनी गरी स्थानीय प्रविधि र डिजिटल उद्यमशीतालाई प्रवर्द्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्सपो २०२५ आयोजना गरिएको हो ।
कार्त्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोबाट नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग पुग्ने नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताउनु भयो ।
नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले एस्पोका लागि आईटी र व्यवसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताउनु भयो । उहाँले सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्सपो एक ऐतिहासिक माइलस्टोन हुनेमा विश्वस्त रहेको बताउनु भयो ।
परम्परागत प्रदर्शनीभन्दा फरक हुने गरी यस कार्यक्रमलाई व्यवसायिक अवसर, सहकार्य र ब्रान्ड निर्माणको गतिशील मञ्चका रूपमा तयार गरिएको छ । एक्सपोमा विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणमा जोड दिइएको छ । नास-आईटी एक्स्पो ५ केवल एक प्रदर्शनी नभएर नेपालका आईटी प्रतिभा र व्यवसायिक अवसरबीचको सेतु भएको नास आईटीकी महासचिव एलिसा श्रेष्ठले बताउनु भयो ।
नास आईटी एक्सपोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ । एक्सपोमा ३० बढी आईटी सेवा र प्रडक्टहरूको प्रदर्शनी रहने छ । एक्सपो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ । कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्ने छन् ।
एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरूले निःशुल्क रुपमा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस