पनौतीको १२ वर्षे मकर मेला स्थगित, एकपटकमा २५ जनाले मात्रै स्नान गर्न पाउने

  • २०७८ पौष २८, बुधबार मा प्रकाशित १ साल अघि
  • १६८० पाठक संख्या

  • प्रत्येक १२ वर्षमा पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला स्थगित गरिएको छ ।

    देशभर बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुनबाट रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गरेपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले २५ जनाभन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न सक्ने निर्णय गरेको छ ।

    मकर संक्रन्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा अब स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ।

    १२ वर्षमा पनौती नगरपालिका ७ त्रिवेणीघाट क्षेत्रमा संचालन हुने मकर मेलामा २५ जनाभन्दा कम र भीडभाड नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई भक्तजनलाई स्नानमात्रै गर्ने व्यवस्था मिलाउन सुरक्षा निकाय, पनौती नगर कार्यालय तथा मेला व्यवस्थापन पक्षलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।

    पनौती नगरपालिका कार्यालयले पनि सूचना जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर मेला तथा अन्य विविध कार्यक्रम स्थगन गरिएको जनाएको छ।

     

    मेलामा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर मात्रै २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने सूचित गरेको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिए ।

    मकर मेला भर्न नेपालका विभिन्न ठाउँ सँगै छिमेकी भारतबाट समेत तीर्थालु आउने गरेका छन्।

    मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। पनौती संघीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटर तथा बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ। मेलाका लागि नगरले गत वर्ष पाँच करोड रुपैयाँ र यस वर्ष तीन करोड रुपैयाँ गरी ८ करोड बजेट छुट्याएको थियो।

    त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिस्थित गोरखनाथलाई अर्पण गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ।

    तस्वीर देवराज केसीको फेसवुकवाट

    प्रतिक्रिया दिनुहोस