एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन धुलिखेलमा शुरु

Post Thumbnail
  • २०७८ पौष २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४८१ पाठक संख्या

  • नेकपा एमाले काभ्रेको जिल्ला अधिवेशन धुलिखेलमा शुरु भएको छ ।

    अधिवेशनको एक कार्यक्रमका साथ नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको असफलताले मुलुकको अर्थतन्त्र टाट पल्टिन लागेको, न्यायपालिकामा न्यायाधीशहरू नै हड्तालमा उत्रिएको र सभामुख एकपछि अर्को अपराधमा संलग्न भएकोले राज्यका सबै अंग बर्बाद बनेको आरोप लगाए ।

    ओलीले ५ दलीय गठबन्धनलाई लक्षित गर्दै ‘अलच्छिन’ को संज्ञा दिए । उनले भने ‘एक अलच्छिन पसे त बर्बाद हुन्छ, ५/५ वटा अलच्छिन एक ठाउँमा भएपछि के हुन्छ ? अहिले त मन्त्री भेटिएला कि भनेर मान्छे तर्केर हिँड्ने अवस्था छ ।’

    कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सेटिङ, परमादेशबाट बनेको सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाए ।

    यस्तै नेता ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति निकै आक्रामक देखिएका थिए । सभामुख सापकोटाको उनले कडा शब्दमा आलोचना गरे । सापकोटालाई लक्षित गर्दै ओलीले पार्टी फुटाउने षड्यन्त्रमा सहभागी बनेको आरोप लगाएका थिए । अध्यक्ष ओलीले काभ्रेली जनतालाई सभामुखको बारेमा आफुले भनिरहनु नपर्ने बताउँदै नाम लिए मुख कुल्ला गर्नुपर्ने अवस्था भएको बताए । उनले सभामुख पदको मर्यादा, गरिमामा नबसेको आरोप लगाए ।

    एमाले विभाजन भयो भनेर चिन्ता गरिरहनु पर्ने अवस्था नभएको बताउँदै एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले दाँत फुक्लएका र दिमाग फुस्किएकाहरू अन्त गएको बताए । उनले एमालेमा लामो समय बसेर कुण्ठाग्रस्त मानिसहरू मात्र बाहिर गएको बताए ।

    कार्यक्रममा सांसद तथा केन्द्रीय सदस्य नविना लामा, केन्द्रीय सदस्य रेशम लामा, प्रदेश उपाध्यक्ष रामहरी सुवेदी, प्रदेश संसद चन्द्र लामा, पनौती नगरका मेयर भीम न्यौपाने, एमाले सहसचिव इन्द्र तामाङ, नेता चुणमणी गौतम,  नेतृ रिता ढकाल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष अशोक व्यञ्जुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष टुल्कु लामा, राप्रपाबाट वडा अध्यक्ष जितेका धनजित लामा र श्रीदास लामा तथा क्रान्तिकारी माओवादीबाट वडा अध्यक्ष जितेका तेजबहादुर मगर एमाले प्रवेश गरेका थिए ।

    शुक्रवार उद्घाटन भएको कार्यक्रमले शनिवार बन्द सत्र तथा नयाँ कार्यसमिति चयन गर्नेछ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस