नेपालमै पहिलो बनेको दश अवतारसहितको ४० फिट अग्लो ब्रह्मा मन्दिर निर्माण सम्पन्न भएको छ ।
बनेपा–४ मा स्थानीयहरुले महायज्ञबाट उठेको रकमबाट निर्माण गरेको मन्दिरको यहि पुष ३० गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट उद्घाटन गरिने भएको छ ।
बिहिवार पत्रकार सम्मेलन गर्दै महादेव खोला ब्रम्हायणी क्षेत्र उत्तरगया समाजका अध्यक्ष पुरुषोतम सापकोटाले नाला क्षेत्र धार्मिक, पर्यटकीय हिसाबले धेरै राम्रो र पौराणीक कथाहरुमध्येको एक भएकाले उक्त मन्दिर निर्माण गरेको बताए । विश्वका दुई मुलुक भारतको राजस्थान र थाईल्याण्डको बैंककमा दश अवतारसहितको मन्दिर अवस्थित रहेको र नेपालमा भने पहिलो पटक दश अवतारसहितको मन्दिर निर्माण भएको सापकोटाको भनाई छ । उनले धार्मिक र सांस्कृतिक हिसाबले विश्वभर यस स्थानलाई परिचित गराउने उद्देश्यले अष्ट मातृका वरपर ब्रम्हायणी क्षेत्रमा ब्रह्मा मन्दिर निर्माण गरिएको बताए । मन्दिरको गत पुस २१ र २२ गते प्राण प्रतिष्ठा समेत गरिएको थियो ।
९१ रोपनी जमिन क्षेत्रफल रहेको उक्त क्षेत्रमा बृहत् गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुरुपको पहिलो निर्माण कार्य पार्क सहितको दश अवतार भएका ब्रह्माको ४० फिट अग्लो मूर्ति प्रतिस्थापन हो । उक्त कार्य सम्पन्न गर्न स्थानीयहरुले १ करोड २० लाख नगद संकलन गरेका थिए । ब्रह्मा मन्दिरसँगै महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य निर्माण कार्य समेत सम्पन्न भइसकेको छ ।
विश्व शान्ति र कल्याणको कामना गर्दै बृहत् रुद्रयाग शैव महायज्ञ एबं शिव महापुराण सहितको यज्ञानुष्ठानको तयारी गरिएको सचिव श्याम सापकोटाले बताए । ब्रम्हायणी मन्दिर क्षेत्रमा समुदाय स्तरबाट झण्डै १४ सयको सहयोग रहेकोमा १० हजार माथि ५ सय ४६ जनाको आर्थिक सहयोग रहेको छ ।
उक्त क्षेत्रमा तेस्रो चरणमा भ्यू टावर लगायतका अन्य संरचनाहरु तयार हुनेछन् । उक्त क्षेत्रको गौरवको योजनाका रूपमा लिएको उक्त क्षेत्रलाई धार्मिक रूपले प्रचार प्रसार गरी आन्तरिक पर्यटन वृद्धि गर्ने समितिको योजना रहेको छ भने चौथो चरणमा खेलमैदान सम्मको योजना बनाइएको आयोजकले जनाकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस