नमोबुद्ध ५ कानपुरमा दोश्रो पटक राष्ट्रप्रमुखको उपस्थिति

Post Thumbnail
  • २०७८ चैत्र १६, बुधबार मा प्रकाशित २ साल अघि
  • १०९५ पाठक संख्या

  • नमोबुद्ध नगरपालिका वडा नं ५ मा (साविक कानपुर कालापानी गाविस) दोश्रो पटक राष्ट्रप्रमुखको उपस्थिति भएको छ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी नमोबुद्ध नगरपालिका वडा नं. ५ स्थित प्राचीन कालिका मन्दिर समुद्घाटनको क्रममा कानपुर पुगेका छन् । यस अघि प्रथम राष्ट्रपति रामबरण यादव कालीदेवी मन्दिर उद्घाटन गर्न आएका थिए ।

    २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त नमोबुद्ध नगरपालिका वडा नं. ५ स्थित प्राचीन कालिका मन्दिर समुद्घाटन कार्यक्रमलाई संवोधन गर्दै राष्ट्रपति भण्डारीले विकास सम्वन्धी नीति, कार्यक्रम र योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्प गर्न जनप्रतिनिधि तथा सम्वद्ध सबैलाई विशेष आह्वान गरिन ।

    दाप्चा र नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न भइरहेको पहलले यो क्षेत्रको पर्यटनमा थप फलदायी बन्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस कार्यमा मेरो सदैव सहयोग र शुभकामना रहने बताईन ।

    कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टी.पी. शर्मा तिमल्सिनाले प्राचीन कालिका मन्दिर पुननिर्माणका लागि सहयोग गर्ने पुरातत्व विभागसहित सबैमा धन्यवाद व्यक्त गर्दै ऐतिहासिक धरोहरको संरक्षण र सम्वद्र्धनको कार्यमा हौसला बढाउन उपस्थित हुनुभएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आभार व्यक्त गरे ।

    नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले राष्ट्रप्रमुखलाई आफ्ना आगनमा स्वागत गर्न पाउँदा सम्पूर्ण नमोबुद्ध नगरबासी खुशी भएको बताए । नमोबुद्ध, कालिका मन्दिर, जगवैजेश्वर, अमर अखण्ड हरिनाम संकीर्तन, मथुरेश्वर, बुचाकोट भगवती लगायतका क्षेत्रको धार्मिक एवं सांस्कृतिक विशिष्टताले नमोबुद्ध नगर सम्पन्न रहेको पौडेलको भनाई थियो ।

    कार्यक्रममा राष्ट्रपति भण्डारीलाई नमोबुद्ध नगरपालिका र सम्पूर्ण नगरबासीको तर्फबाट अभिनन्दन गरिएको थियो । यस्तै कालिका मन्दिर पुननिर्माणमा महत्वपूर्ण भूमिका खोल्ने पुरातत्व विभागलाई सम्मान गरिएको थियो ।

    विक्रम संवत १८३८ मा निर्माण भएको उक्त मन्दिर २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त भएको थियो । मन्दिर पुननिर्माण पुरातत्व विभाग, राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग र नमोबुद्ध नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो । मन्दिर पुननिर्माणका लागि पुरातत्व विभागबाट १ करोड ४० लाख, पुननिर्माण प्राधिकरण र शहरी विकास तथा भवन निर्माण विभागबाट संयुक्तरुपमा ६० लाख र नमोबुद्ध नगरपालिकाबाट ४ लाख रुपैयाँ खर्च भएको छ ।

    प्रतिक्रिया दिनुहोस