पनौती नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ । बुधबार दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए ।
२०५१ साल माघ १४ गते स्थापना भई ९ वटा सहकारी संस्था एकीकरण भएर काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ३८ हजार शेयर सदस्य र ३ अर्ब ७४ करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५३ साल भाद्र १५ गते स्थापना भई ११ हजार शेयर सदस्य र ४५ करोडको कुल पूँजी रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता गरेका हुन् ।
स्थापनाकालदेखि नै समुदायमा केन्द्रित रही सञ्चालित यि दुबै संस्था एशियाली ऋण महासंघद्वारा सञ्चालित एक्सेस ब्राण्डिंङ कार्यक्रममा समेत सहभागी संस्थाहरु हुन् । एशियाली ऋण महासंघ र नेफ्स्कुनको अनुगमन र नियमनमा सञ्चालित यि संस्थाहरु मध्ये सामुदायिक एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो भने युवा एक्सेस कार्यक्रममा सहभागी संस्था हो ।
कार्यक्रममा संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष उदयराम कायस्थले सानो स्केलको सहकारीहरु सञ्चालनमा सहज नभएको भन्दै एककीकरणलाई अंगिकार गरेको जानकारी दिए ।
त्यसैगरी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरश पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरणको आवश्यकता भएको बताए ।
दुबै संस्थाको आगामी साधारण एकीकरणको प्रस्ताव पारित भएपश्चात दुबै संस्थाको एकीकृत कारोबार हुनेछ । एकीकृत संस्थाको शेयर सदस्य संख्या ४८ हजार र कुल पूँजी रू ४ अर्ब २२ करोड हुनेछ भने शेयर पूँजी रू ३८ करोड पुग्नेछ । लगानीमा रहेको ऋण रू ३ खर्ब ३३ करोड हुनेछ । बचत निक्षेप रू २ अर्ब ७० करोड हुनेछ । जगेडा कोष रू. ३० करोड हुनेछ र अन्य कोषहरु रू २१ करोडगरी जम्मा कोष रू ५१ करोडाको हुनेछ ।
प्रतिक्रिया दिनुहोस