एशियाली स्तरको एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले आ.व. २०७८।०७९ सम्ममा सदस्यहरुबाट कुल रु. २ अर्ब ३८ करोड निक्षेप संकलन गरी रु. २ अर्ब ९८ करोड ऋण परिचालन गरेको छ । २०७८ असार मसान्तसम्ममा संस्थाको कुल निक्षेप रु. १ अर्ब ९६ करोड र लगानीमा रहेको ऋण रु. २ अर्ब ४२ करोड रहेको थियो ।
यसैगरी २०७९ असार मसान्तसम्ममा संस्थाले कुल पुँजि रु. ३ अर्ब ६७ करोड पुर्याउन सफल भएको छ । संस्थाको गत आ.व. को कुल पुँजि रु. ३ अर्ब ३ करोड रहेको थियो । यो रकम अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बृद्धि भएको हो । १ वर्षमा संस्थाले २१ प्रतिशतले निक्षेप बृद्धि र २३ प्रतिशतले ऋण लगानीमा बृद्धि गरेको छ ।
संस्थाले तरलता अभावको संकटमा समेत रु. ३२ करोड ८६ लाख अर्थात १४ प्रतिशत तरलता कायम गर्दै समुदायमा सवल र सुरक्षित संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ ।
आ.व. २०७८।०७९ मा खुद बचत १२ करोड ५० लाख गर्न सफल संस्थाको गत आ.व. ०७७।०७८ मा रु. ९ करोड ५० लाख खुद बचत कमाएको थियो । खुद बचतमा ३१.५१ प्रतिशतले गत आ.व. को तुलनामा बृद्धि गर्न सफल भएको छ ।
संस्थामा सदस्यहरुको शेयर पुँजि रु. ३२ करोड ६ लाख रहेको छ भने संस्थाको जगेडा कोष रु. २८ करोड ५३ लाख रहेको छ ।
२०५१ साल माघ १४ गते ४१ जना सदस्य र ३२,५००।– रकमबाट शुरु भएको संस्थाले हाल काभ्रेपलाञ्चोक जिल्ला मात्र नभई काठमाण्डौं उपत्यकाका तीन जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्न सफल भई उपत्यकामा २ वटा र जिल्ला भित्र १३ वटा कार्यालयहरु मार्फत सेवा उपलब्ध गराउँदै समुदायले रुचाएको सहकारी संस्थाको रुपमा स्थापित हुन सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस