
कामीडाँडा/ बेथानचोक गाउँपालिकामा सम्पन्न आठौँ वडा स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि चाल्टी युथ क्लबले जितेको छ। फाइनल खेलमा प्रतिस्पर्धा गरेको भूमिमाता युथ क्लब उपविजेता बनेको छ।
बेथानचोक गाउँपालिका वडा नं. ५ कामीडाँडास्थित नाकपोखरी खेल मैदानमा आयोजित प्रतियोगितामा २१ वटा टिमको सहभागिता रहेको थियो। केएमसी सिर्जनशील युथ क्लबको आयोजनामा तथा बेथानचोक गाउँपालिकाको सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो।
समापन तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले आगामी दिनमा खेलकुद क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने बताउनुभयो। खेलकुदको विकासका लागि आवश्यक खेलमैदान निर्माण तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा गाउँपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्ने उहाँको भनाइ थियो।
समापन समारोहमा बेथानचोक गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर लामा, वडा नं. ५ का वडा अध्यक्ष राजकुमार वाईवा, विभिन्न वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा गाउँपालिकाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा आपसी सद्भाव र खेल भावना प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी सम्पूर्ण टिम, खेलाडी तथा सहयोगीहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस