२०८३ कार्तिक २३, सोमबार  | Mon, 09, Nov, 2026

सुँडी खोलामा पुल निर्माण, स्थानीयहरूमा खुसीयाली

  • अधिकारी क्लिक काभ्रेका प्रधानसम्पादक हुनुहुन्छ ।
  • २०८३ कार्तिक २३, सोमबार मा प्रकाशित ५ घण्टा अघि
  • ३६ पाठक संख्या

  • धुलिखेल / काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. १० र १२ लाई जोड्ने सुँडी खोलामा पुल निर्माण गरिएको छ । बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य तीर्थ लामाको प्रस्ताव र पहलमा पुल निर्माण गरिएको हो ।
    बागमती प्रदेश सरकारको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयको पूर्ण बजेटमा एक करोड उनान्असी लाख पचहत्तर हजार चार सय पचपन्न रुपैयाँ एक्काइस पैसाको लागतमा १३ दशमलव ७ मिटर पुल निर्माण गरिएको हो । धुलिखेल, पनौती, नमोबुद्ध नगरपालिकाका साथै दाप्चा हुँदै जाने रोशी गाउँपालिकाका स्थानीयले पनि उक्त पुल प्रयोग गर्छन् ।

    २०१४ सालमा निर्माण गरिएको पुल २०२१, २०२८, २०३२ र २०४८ सालमा पुनर्निमाण गरिएको थियो । पछिल्लो समय जीर्ण रहेको पुल पुनर्निर्माणको लागि प्रदेश सभा निर्वाचनको बखत स्थानीयले सो क्षेत्रका कांग्रेस उम्मेदवार तीर्थ लामालाई अनुरोध गरेका थिए । ४ वर्ष अघि चुनावी अभियान गरेको प्रतिवद्धता प्रदेश सभा सदस्य बाहाल रहेकै बेला उनले पूरा गरेका हुन् ।
    पुल उद्घाटन गर्दै प्रदेश सभा सदस्य लामाले आफ्नो प्रतिवद्धता पूरा गर्न पाइएको र स्थानीयको जीवनयापन सहज बनाउन पाएकोमा आभार व्यक्त गरे । उनले स्थानीयको सुख दुःखमा आफू सधैं साथमा नै रहेको भन्दै अन्य विकास निर्माणमा सघाउने प्रतिवद्धता जनाए ।

    धुलिखेल नगरपालिकाका कार्यवहाक नगर प्रमुख निराजन जंगमले प्रदेश सभा सदस्य तीर्थ लामा मन्त्री हुँदा धुलिखेलमा विकास निर्माणका धेरै काम भएको भन्दै आगामी दिनमा पनि निरन्तरता कामना गरे । निर्माण व्यावसायी चन्द्रबहादुर लामाले गुणस्तरीय निर्माणमा जोड दिएर समयमा नै निर्माण सकाएको बताए ।
    धुलिखेल वडा नं १० का अध्यक्ष गोविन्द उपाध्याय, १२ नं वडाका अध्यक्ष मोहनप्रसाद लामिछानेले पुलले दुई वडाका नागरिकको आवतजावतलाई सहज बनाउनुका साथै स्थानीय आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उपाध्यायले सुडी खोलामा कोरिडोर वा तटवन्धन गर्न सके यो क्षेत्रका खेतीयोग्य जमिन जोगाउन सहज हुने तर्क गरे ।

    धुलिखेल नगरपालिका वडा नं १० का सदस्य अशोक शाहले पुल भनेको दुई किनारा जोड्ने भौतिक संरचनामात्र नभएको भन्दै यसले स्थानीयको यातायात, आवागमनका साथै कृषि उत्पादन बिक्रीका लागि पनि पहुँच सहज बनाएको बताए ।
    पुल निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दाहरूमा खुसीयाली छाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑