२०८३ कार्तिक २१, शनिबार  | Sat, 07, Nov, 2026

विपद् व्यवस्थापनमा दलगत राजनीति होइन, साझा ऐक्यबद्धता आवश्यक : विश्वप्रकाश शर्मा

  • २०८३ कार्तिक २१, शनिबार मा प्रकाशित ४ घण्टा अघि
  • २४ पाठक संख्या

  • बनेपा/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तन र प्राकृतिक विपद्का चुनौती सामना गर्न राजनीतिक दलहरूबीच साझा सोच, सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्। विपद्ले कुनै राजनीतिक दल नचिन्ने भएकाले यसको सामना गर्दा दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने उनको भनाइ छ।

    नेपाली कांग्रेस काभ्रेपलाञ्चोकद्वारा आयोजित रक्तदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले विपद् व्यवस्थापनलाई राजनीतिक प्रतिस्पर्धाको विषय बनाउन नहुनेमा जोड दिए। उनले सरकारसहित सबै राजनीतिक दललाई एकताबद्ध भएर जलवायु परिवर्तन र विपद्का जोखिम न्यूनीकरणमा जुट्न आग्रह गरे।

    ‘चुनाव जित्नु मात्र ठूलो कुरा होइन, दिमागमा सधैँ चुनावलाई केन्द्रमा नराखौँ। चुनावमा हारजित भइरहन्छ, तर समाजमा समन्वय, विश्वास र प्रेम जगाउनु कांग्रेसको सबैभन्दा ठूलो भूमिका हो,’ उनले भने।

    पार्टीको वडा तहमा निर्वाचित नेतृत्वलाई जनताको आवश्यकता र स्थानीय विकासलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै शर्माले पार्टी जिताउनेभन्दा पहिले आफ्नो वडालाई जिताउने अभियानमा लाग्न आग्रह गरे। फरक राजनीतिक विचार राख्ने नागरिकलाई एउटै ठाउँमा बसेर गाउँको विकासबारे छलफल गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

    ‘मानवताको सेवाभन्दा ठूलो राजनीति र धर्म अर्को छैन,’ भन्दै उनले सामाजिक सद्भाव र सामूहिक विकासको नेतृत्व वडा सभापतिहरूले गर्नुपर्ने बताए।

    कार्यक्रममा कांग्रेस नेता मधुप्रसाद आचार्यले पार्टीका राजनीतिक तथा सामाजिक गतिविधिसँग समाजसेवालाई जोड्दै आएको उल्लेख गर्दै देश सनकका आधारमा सञ्चालन हुन नसक्ने बताए।

    त्यसैगरी केन्द्रीय सदस्यद्वय गणेश लामा र महेश खरेल, कार्यवाहक जिल्ला सभापति गुणराज मुक्तान, जिल्ला सचिव माधव ढकाल, प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति चन्द्रबहादुर लामा, क्षेत्र नं. २ का सभापति जितेन्द्रमान तामाङ (दावा लामा) तथा जिल्ला सदस्य सनिता न्यौपाने बजगाईंलगायतले कांग्रेसका गतिविधिमा सामाजिक सेवाले प्राथमिकता पाउनुपर्ने धारणा राखेका थिए।

    कार्यक्रममा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचित प्रतिनिधिसभा क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, पालिका सभापति तथा वडा सभापतिहरूलाई बधाई तथा सम्मान गरिएको थियो। कार्यक्रममा रक्तदानसमेत आयोजना गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    ↑