२०८३ कार्तिक २१, शनिबार  | Sat, 07, Nov, 2026

सयपत्री राष्ट्रिय सम्मानबाट कर्माचार्य र दुवाल दम्पती सम्मानित

  • २०८३ कार्तिक २१, शनिबार मा प्रकाशित ५ घण्टा अघि
  • ६७ पाठक संख्या

  • बनेपा/ सयपत्री प्रतिष्ठान नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य र काभ्रेली साहित्यकार सुजना दुवाललाई ‘सयपत्री राष्ट्रिय सम्मान २०८३’ प्रदान गरेको छ।

    काभ्रेको जनागालस्थित जनज्योति माध्यमिक विद्यालयमा आयोजित साहित्यिक समारोहमा कर्माचार्य दम्पती र दुवाल दम्पतीलाई सम्मान गरिएको हो। कर्माचार्यसँगै उनकी धर्मपत्नी रीना कर्माचार्य तथा साहित्यकार दुवालसँगै उनका श्रीमान संगितकार सन्तोषभक्त श्रेष्ठ सम्मानित भएका हुन।

    नेपालका प्रख्यात संस्कृतिविद् तथा इतिहासकार हरिराम जोशीको प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका प्रमुख सल्लाहकार मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित दम्पतीलाई सम्मानपत्र, सयपत्री माला, दुबोको माला, दोसल्ला तथा बाटो खर्चस्वरूप पाँच हजार रुपैयाँ नगद प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

    वि.सं. २०५५ सालदेखि प्रतिष्ठानले प्रत्येक वर्ष जनागालमा साहित्यिक कार्यक्रम आयोजना गरी राष्ट्रियस्तरका एक र काभ्रेली साहित्यिक क्षेत्रका एक स्रष्टालाई दम्पतीसहित सयपत्री राष्ट्रिय सम्मान प्रदान गर्दै आएको छ।

    प्रतिष्ठानले हालसम्म राष्ट्रकवि माधव घिमिरे, कृष्णचन्द्र सिंह प्रधान, रमेश विकल, चित्तरञ्जन नेपाली, माधवलाल कर्माचार्य, शेषराज शिवाकोटी, मोहन दुवाल, तुलसी दिवस, मञ्जुल, डा. खगेन्द्र लुइँटेल, मोदनाथ प्रश्रित, डा. रामप्रसाद ज्ञवाली, अर्जुन पराजुलीलगायत राष्ट्रिय तथा स्थानीय क्षेत्रका ७५ जना स्रष्टालाई दम्पतीसहित सम्मान गरिसकेको छ।

    कार्यक्रममा देशका विभिन्न क्षेत्रका तथा जिल्लाका स्रष्टाहरूले कविता रचना वाचन गरेका थिए। सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको ‘सयपत्री रामभक्त भुवनदेवी स्मृति छात्रवृत्ति’ समेत वितरण गरिएको थियो। जनागालस्थित जनज्योति माध्यमिक विद्यालयबाट २०८२ सालको एसईई परीक्षामा सहभागी भई उत्कृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

    साहित्य, कला, संस्कृति र स्रष्टाहरूको योगदानको सम्मान तथा नयाँ पुस्तामा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    ↑