बेथानचोक गाउँपालिकामा आठौँ वडा स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गर्नुभएको हो।
बेथानचोक गाउँपालिका वडा नं. ५ कामीडाँडास्थित नाकपोखरी खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष राजकुमार वाईवा, वडा नं. ४ का वडा सदस्य दिलकुमारी तामाङ, वडा सदस्य कर्ण तामाङ तथा गाउँपालिकाको युवा तथा खेलकुद शाखा प्रमुख अर्बिन तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, प्रहरी चौकी च्यामराङबेशी ढुंखर्कका इन्चार्जसहित अन्य प्रहरी कर्मचारी तथा सुरक्षाकर्मीहरू र स्वास्थ्यकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिका र यहाँका युवाहरूलाई समेट्दै खेलकुद क्षेत्रसँग जोड्ने बताउनुभयो। उहाँले युवाहरूको प्रतिभा र क्षमतालाई उजागर गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै गाउँपालिकाले खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिने धारणा व्यक्त गर्नुभयो।
प्रतियोगिताअन्तर्गत पहिलो खेल के एम सी सिर्जनशील युथ क्लब र बुढामाङ्कल ब्वाइज क्लब, भंगालाबीच सुरु भएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा आपसी सद्भाव र खेल भावना प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस