बनेपा । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले जिल्लाका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरेको छ । सहकारी क्षेत्रका समसामयिक विषयमा केन्द्रित अन्तरक्रियामा संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी क्षेत्रमा सुधार र सुसाशनको लागि सञ्चार क्षेत्रको साथ सहयोग र समन्वय अपरिहार्य रहेको बताए ।
उनले राज्यले ल्याएको पछिल्ला सहकारी ऐनका व्यवस्था, परिमार्जनले सहकारी क्षेत्रमा पार्ने प्रभाव र जिल्ला सहकारी संघका कार्ययोजना र भूमिकाका बारेमा बहुपक्षीय सहकार्य आवश्यक रहेको पनि बताउनु भयो ।
श्रेष्ठले संस्थाका गतिविधिलाई सञ्चार क्षेत्रसँग सहकार्यका रुपमा अघि बढाउने बताए । उनले भने “अनुभव आदानप्रदान, तालिम, असल शासनका अभ्यास विस्तार गर्ने भावी योजनाहरु छन ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्व अध्यक्षहरू इश्वरीप्रसाद ओझा, महेशराज पौड्याल र मोतिराम तिमल्सिनाले सहकारी क्षेत्रका सकारात्मक काम र अभ्यासहरूलाई संगसगै प्रचार प्रसारका माध्यमबाट अघि बढाउनु पर्ने धारणा राखे ।
संघका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले १३ वटै स्थानीय तहका ५८५ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध रहेको जानकारी दिए । कार्यक्रममा जिल्लाका सञ्चारकर्मीका साथै जिल्ला सहकारी संघका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस