पनौती/क्यान महासङ्घ काभ्रे शाखाले “सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार” भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा डिजिटल बजार प्रवर्द्धन तथा सृजनशीलता विषयक तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थामा आयोजित उक्त कार्यक्रम क्यान महासङ्घ काभ्रे शाखाको आयोजना तथा सहकारीको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि क्यान महासङ्घका केन्द्रीय उपाध्यक्ष शेखरनाथ दुलालले सूचना तथा सञ्चार प्रविधि दिवसको शुभकामना व्यक्त गर्दै डिजिटल युगसँगै बढ्दो प्रविधिको प्रयोग, डिजिटल साक्षरता र बजार विस्तारका लागि डिजिटल बजार प्रवर्द्धनको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले वर्तमान पुस्ता अनलाइन (विद्युतीय माध्यम) प्रति बढी आकर्षित हुँदै गएको उल्लेख गर्दै भविष्य लक्षित व्यवसायका लागि डिजिटल बजार प्रवर्द्धन अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
ज्योति मिर्मिरे सहकारीका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले डिजिटल सीप वर्तमान समयको आवश्यकता भएको बताउँदै यस्ता तालिमहरूले व्यवसाय प्रवर्द्धन र उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीमार्फत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रमका प्रशिक्षक तथा क्यान महासङ्घ काभ्रे शाखाका सचिव केवल प्रसाद तिमल्सिना (राजकुमार) ले करिब ३० भन्दा बढी सहभागीलाई डिजिटल माध्यमबाट व्यवसाय प्रवर्द्धन, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, सामग्री निर्माण तथा पहिचान निर्माण (ब्रान्डिङ) सम्बन्धी व्यावहारिक तालिम प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष (विशिष्ट अतिथि), क्यान महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष विकास पन्त, सहकारीका कर्मचारी, क्यान महासङ्घका पदाधिकारी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
क्यान महासङ्घ काभ्रे शाखाका अध्यक्ष तथा कार्यक्रमका सभापति देवकी आचार्य दुलालले डिजिटल युगमा सीपमूलक तालिमको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालन पुरुषोत्तम दाहालले गर्नुभएको थियो ।
सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान दैनिक डिजिटल प्रयोग तथा व्यवसायिक गतिविधिमा उपयोगी हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस