धुलिखेल/पहिला पहिला सोच्ने गरिन्थ्यो, मधुमेह या चिनी रोग(डाइबिटिज) उमेर बढेपछि हुने रोग हो, तर पछिल्ला समयमा यो सोचाई गलत हुन थालेको छ । किनकी अलि कम उमेरमै ३५ देखि वर्ष उमेरमै देखिने गरी विगत केही वर्षहरूमा डाइबिटिज बढेको देखिएको छ । अहिले जसरी जीवनशैली परिवर्तन भएको छ, खानपान पहिलेजस्तो छैन, जुन प्रकारको तनाव(स्टे«स) छ, यी कारणहरूले गर्दा कम उमेरमा अथवा ३५ वर्ष नपुग्दै वा ३० वर्ष मुनिकालाई पनि डाइबिटिज देखिराखेको छ । यसलाई ‘युथ अनसेट डाइबिटिज’ पनि भनिन्छ ।
केही दशक अगाडिसम्म पनि कम उमेरमै डाइबिटिज भएको सुनिँदैन थियो । तर विगत २ दशकदेखि किशोरावस्थामा वा युवावस्थामा देखिने डाइबिटिज लगभग दोब्बर हुन थालेको छ । अहिलेको जीवनशैली, खानेकुराको स्वरुप, बाहिर बढी खाने प्रवृत्ति, फिजिकल एक्सरसाइज नगर्ने, ओबिसिटी अर्थात् मोटोपनाले यो समस्या बढाएको विशेषज्ञहरुको भनाई छ । यो कुरालाई पछिल्ला वर्षहरुमा अस्पतालमा देखिन नसर्ने रोगीहरुको भीड र मधुमेहका क्लिकि तथा नयाँ नयाँ औषधिहरुले समेत पुष्टि गर्दै लगेका छन् ।
नेपाल, भारत र दक्षिण एशिायली मुलुकहरुमा डाइबिटिजको समस्या पश्चिमा अर्थात युरोप अमेरिकाको तुलनामा अलिक छिटो अथवा १० वर्षअघि नै देखिने गरेको बताइन्छ । मोटोपन नभएको मान्छे जस्तै शारीरिक रुपमा मान्छे दुब्लो छ, तर सेन्ट्रल ओबिसिटी अर्थात पेटमा बोसोको मात्रा बढी भएका ब्यक्तिहरूमा पनि डाइबिटिज भेट्टाइरहेका दृष्टान्तहरुले डाइबिटिज हुनलाई मोटोपना नै हुनुपर्छ भन्ने नरहेको देखाउँछ ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) को प्रतिवेदनका अनुसार मधुमेहसम्बन्धी पछिल्लो तथ्य र तथ्याङ्कले व्यक्ति, परिवार र प्रायः मुलुकहरुहरूमा मधुमेहको विश्वव्यापी बोझ बढ्दै गएको छ । महासंघको पछिल्लो ‘डायबिटिज एटलस (२०२५)’ ले विश्वभर ११‘दशमलव १ प्रतिशतअर्थात् हरेक ९ जनामध्ये (२०–७९ वर्ष) का एक जना मानिस मधुमेहसँग बाँचिरहेको रिपोर्ट सार्वजनिक गरेको छ । चिन्ताजनक रूपमा, यी मध्ये १० मध्ये ४ जना (वा ४० प्रतिशतभन्दा बढी) लाई आफूलाई यो अवस्था छ भन्ने नै थाहा छैन । महासंघको प्रक्षेपणले सन् २०५० सम्ममा ८ मध्ये १ वयस्क, अर्थात् संसारभर लगभग ८५ करोड ३० लाख मानिस, मधुमेहबाट पीडित हुने देखाएको छ । यो हालको तुलनामा ४६ प्रतिशतले वृद्धि हो ।
सोही प्रतिवेदनअनुसार, मधुमेह भएका मध्ये ९० प्रतिशतभन्दा बढीलाई ‘टाइप–२’ मधुमेह हुने गरेको छ, जुन सामाजिक–आर्थिक, जनसांख्यिकीय, वातावरणीय र आनुवंशिक कारकहरूद्वारा सिर्जित भएको पाइन्छ । ‘टाइप–२’ मधुमेह बढ्नुका प्रमुख कारणहरूमा सहरीकरण, बढ्दो उमेरको जनसंख्या, शारीरिक व्यायामको घट्दो स्तर र बढ्दो मोटोपन तथा अधिक तौलको प्रकोप भनिएको छ । यद्यपि, टाइप–२’ मधुमेहको लागि रोकथामका उपायहरू अपनाएर र सबै प्रकारका मधुमेहको प्रारम्भिक निदान र उचित हेरचाह प्रदान गरेर यसको प्रभाव कम गर्न सम्भव भएको उल्लेख छ । विशेषज्ञहरूका अनुसार, यी उपायहरूले मधुमेहसँग बाँचिरहेका मानिसहरूलाई गम्भीर जटिलताहरूबाट बच्न वा त्यसलाई ढिलाइ गर्न मद्दत गर्न सकिन्छ ।
नेपालमा मधुमेहको अवस्था निकै चिन्ताजनक र बढ्दो क्रममा रहेको विशेषहरु बताउँछन् । यो अब केवल सहरी क्षेत्रको मात्र नभई, ग्रामीण भेगमा समेत तीव्र गतिमा फैलिरहेको एक प्रमुख जनस्वास्थ्य समस्या बनिसकेको छ । आइडिएफको सन् २०२४ को तथ्याङ्कअनुसार, नेपालमा १२ लाख ५९ हजार भन्दा बढी (२०–७९ वर्ष) का नेपालीहरु मधुमेहबाट पीडित छन्। यो कुल वयस्क जनसंख्याको लगभग ७ दशमलव ७ प्रतिशत हो । सबैभन्दा चिन्ताजनक कुरा, मधुमेह भएकामध्ये लगभग ७० दशमलव ४ प्रतिशतलाई आफूलाई यो रोग लागेको छ भन्ने नै थाहा छैन । यसको अर्थ, १० मध्ये ७ जना आफ्नो अवस्थाबारे अनजान छन् ।
यस्तै, पूर्व–मधुमेह (प्रि–डाइबिटिज) हुने उच्च जोखिममा रहेका नेपालीहरूको संख्या पनि उल्लेख्य छ । केही अध्ययनहरूले यो दर १९ प्रतिशतभन्दा बढी रहेको देखाएका छन्, जसको अर्थ उनीहरूलाई भविष्यमा टाइप–२ मधुमेह हुने सम्भावना उच्च रहेको छ । मधुमेह भएकाहरुलाई रोकथामका उपायहरू अपनाइएन भने, सन् २०५० सम्ममा नेपालमा मधुमेहका बिरामीको संख्या बढेर २३ लाख ८२ हजार पुग्ने अनुमान गरिएको छ ।
७० प्रतिशतभन्दा बढी मानिसहरूलाई आफ्नो रोगबारे थाहा नहुँदा, उनीहरूले समयमै उपचार पाउँदैनन् । यसले गर्दा मिर्गौला फेल हुने, आँखाको ज्योति गुम्ने, र हृदयाघात जस्ता गम्भीर जटिलताहरू निम्तिने जोखिम उच्च हुन्छ । तिलगंगा आँखा प्रतिष्ठानकी नेत्ररोग विशेषज्ञ डा. रबा थापाका अनुसार मधुमेहको समयमा उपचार नभएका व्यक्तिमा अन्धोपनाको समस्या निम्तन सक्छ । यही भएर तिलगंगा आँखा प्रतिष्ठानले मधुमेह भएका सबै व्यक्तिहरुलाई नियमित आँखा परीक्षण गर्न आग्रह गर्दै आएको छ । आँखामा देखिने समस्यामध्ये ‘डायबेटिक रेटिनोपेथी’ दृष्टिविहीन गराउने कारणमध्ये प्रमुख कारण भए पनि आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको डा. थापा बताउँछिन् ।
मधुमेह र अन्य नसर्ने रोगहरूको बढ्दो जोखिमलाई सम्बोधन गर्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२३ देखि सुरु गरेको एक पहलले सन् २०२५ सम्ममा उच्च रक्तचाप र मधुमेहका १५ लाख बिरामीहरूलाई प्रोटोेकल–आधारित उपचारको दायरामा ल्याउने लक्ष्य राखेको छ । यद्यपि द्रुत गतिमा बढिरहेको मधुमेहको रोकथाम र व्यवस्थापनका लागि व्यक्तिगतस्तरमा जीवनशैली परिवर्तन (स्वस्थ खानपान र नियमित व्यायाम) तथा राष्ट्रियस्तरमा व्यापक जनचेतना र उपचारको पहुँच बढाउनु अत्यावश्यक रहेको विशेषज्ञहरुको आग्रह रहेको छ ।
पलाञ्चोक साप्ताहिकमा प्रकाशित

प्रतिक्रिया दिनुहोस