नेपाल पत्रकार महासंघ काभ्रेको वार्षिक साधारणसभा सम्पन्न

  • २०८३ जेष्ठ ९, शनिबार मा प्रकाशित ५ घण्टा अघि
  • ८ पाठक संख्या

  • बनेपा/ नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको वार्षिक साधारणसभा बनेपामा सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष विनोदकुमार न्यौपानेको सभापतित्व तथा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा प्रमुख अतिथि शर्माले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाजलाई सही सूचना प्रवाह गर्न पत्रकारहरू अझ सक्रिय बन्नुपर्ने बताइन् । उनले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारहरूको क्षमता विकास र संस्थागत सुदृढीकरण आवश्यक रहेकोमा जोड दिइन् ।
    साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन सचिव नगेन्द्र अधिकारीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशबराज पौड्यालले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वर्गीय भरतराज पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार मधुसुधन गुरागाईलाई सम्मान गरिएको थियो ।


    कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौड्याल, ईश्वरी ओझा, मोतिराम तिमल्सिना, बद्रीराज तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपालका अध्यक्ष राम प्रसाद ढकाल, प्रेस युनियनका सचिव शुभराज अधिकारी, आदिवासी जनजाति महासंघका अध्यक्ष ईन्द्र बहादुर थापा तथा सञ्चारिका समूह काभ्रेकी अध्यक्ष सुनिता सापकोटालगायतले पत्रकारिताको पेशागत मर्यादा, सञ्चार क्षेत्रका चुनौती, पत्रकार सुरक्षा, प्रेस स्वतन्त्रता तथा डिजिटल पत्रकारिताको बढ्दो प्रभावका विषयमा धारणा राखेका थिए ।
    महासंघका उपाध्यक्ष कपिल कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव नगेन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।
    यसैबीच साधारणसभाले आठ बुँदे विशेष प्रस्तावसमेत पारित गरेको छ । पारित प्रस्तावमा श्रमजीवी पत्रकारहरूको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न स्पष्ट नीति तथा कानुन निर्माण गर्न महासंघको प्रदेश र केन्द्रलाई आग्रह गरिएको छ । त्यस्तै सूचनाको हक अक्षरशः कार्यान्वयन गर्न, एकद्वार प्रणालीका नाममा मिडिया बन्द गराउने सरकारी कदमको विरोध गर्न, लोककल्याणकारी विज्ञापन नीति सुधार गरी विज्ञापन रकम वृद्धि तथा समानुपातिक वितरण सुनिश्चित गर्न माग गरिएको छ ।


    साधारणसभाले सूचना तथा सञ्चारसँग सम्बन्धित निकायका पदाधिकारीको निलम्बन र बर्खास्ती प्रक्रिया रोक्न, संविधान प्रदत्त प्रेस स्वतन्त्रता र सञ्चार अधिकार सुनिश्चित हुने गरी कानुन निर्माणका लागि सर्वपक्षीय पहल गर्न तथा काभ्रेपलाञ्चोकका स्थानीय तह र सरकारी निकायबाट लोककल्याणकारी विज्ञापन तथा सूचनाहरू समानुपातिक रूपमा वितरण गर्नसमेत माग गरेको छ ।
    त्यस्तै, प्रेस स्वतन्त्रता र सञ्चार अधिकारविरुद्ध हुने गतिविधिका विरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सञ्चालन गर्ने आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सक्रिय सहभागिताका लागि सम्पूर्ण सरोकारवालालाई आह्वान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस