उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार धिताललाई

  • २०८२ फागुन १५, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ३५ पाठक संख्या

  • बनेपा /उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार–२०८२ पुजन धिताल लाई प्रदान गरिएको छ।
    डाँडापारी क्षेत्रका चुनौती र सम्भावनालाई पत्रकारिता मार्फत उजागर गर्दै त्यस क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाले कान्तिपुर टेलिभिजनका काभ्रेपलाञ्चोक संवाददाता धिताललाई उक्त पुरस्कार प्रदान गरेको हो।
    पुरस्कारका संरक्षक तथा स्वर्गीय उर्मिला सापकोटाका पिता गोपालकृष्ण सापकोटा ले उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे।
    वि.सं. २०६६ साल फागुन १५ गते घरबाट गोटिखेल स्थित क्याम्पस अध्ययनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा परी उर्मिला सापकोटाको निधन भएको थियो। उनको स्मृतिमा गोपालकृष्ण सापकोटाले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। सो कोषबाट प्राप्त ब्याजबाट हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ।
    यस पुरस्कारबाट हालसम्म जिल्लामा क्रियाशील १४ जना पत्रकार सम्मानित भइसकेका छन्।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने ले यस्ता पुरस्कारले पत्रकारितामा थप हौसला मिल्ने बताए। त्यसैगरी नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकका अध्यक्ष नगेन्द्र अधिकारी ले पत्रकारिता क्षेत्रको सम्मानका लागि पुरस्कार स्थापना गर्ने परिवारप्रति आभार व्यक्त गरे।
    कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमिल्सना, बद्रिराज तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष रामप्रसाद ढकाल लगायत जिल्लामा क्रियाशील सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस