बेथानचोकका गृहिणीलाई अचार बनाउने तालिम

  • २०८१ अषाढ २०, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • ६७८ पाठक संख्या

  • बेथानचोक गाउँपालिकामा ५२ जनालाई अचार बनाउने व्यावसायिक तालिम दिइएको छ । उनीहरुलाई गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत ५ दिने व्यावसायिक तालिम दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । वागमती प्रदेश सामाजिक विकास मन्त्रालयको ८० प्रतिशत र बाँकी बेथानचोक गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । आषाढ १६ गते शुरु भई २० गते सम्पन्न तालिममा प्रशिक्षक मिरा बजगाईले सहभागीहरुर्लाइ तालिम प्रदान गर्नु भएको थियो ।

    तालिम समापन समारोहलाई सम्बोधन गर्दै वागमती प्रदेश सभा सदस्य रुकु चौलागाईंले महिला सीपवान भए आर्थिक समुन्नति हुने बताउनु भयो । उहाँले महिलाका सीप चुलो चौको मै सिमित हुँदा आर्जित सीप व्यावसायिक नभएकोले आय आर्जनका सवालमा महिला पछि परेको औल्याउनुभयो । निर्वाहमूखीबाट माथी उठेर व्यावसायिक बन्न आवश्यक समाजका हरेक वर्ग र समुदायको पहुँच र अवस्था हेरेर स्वरोजगारी सृजना गर्नु पर्नेमा उहाँको जोड थियो । समूह बनाएर वा एकल व्यवसाय गर्दा पनि प्रदेश सरकारको साथ र सहयोग मिल्ने हुँदा आफ्ना स्थानीय जनप्रतिनिधिमार्फत प्रदेशसम्म पहुँचका लागि उहाँले सुझाव दिनुभयो ।
    कार्यक्रममा बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले तालिमले आत्मबल बढाउने, आर्थिक हैसियत प्रदान गर्ने हुँदा सीपमुलक तालिमबाट सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिले महिलाको सीप, दक्षता विकासमा ध्यान दियौं भने महिलाले व्यहोरेको अपमान, असमानता विस्तारै न्युनीकरण हुँदै जाने कुरा औल्याउनु भयो ।

    कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले महिला सशक्तीकरण र समावेशिता नारामा वा कुरामा मात्र सिमित नराखी व्यवहार मै उतार्न आवश्यक रहेको बताउनु भयो । उहाँले अग्रणी महिलाहरुसँग कुन तालिम आवश्यक छ भन्ने सुवाझ लिएरै अचार बनाउने सीपमूलक तालिम सञ्चालन गरिएको बताउनु भयो ।

    सहभागीहरुले तालिममा आँपको अचार, मिक्स अचार, गोलभेंडाको अचार, हरियो अकबरे खुर्सानीको मसला अचार, मथीको टुसाको अचार, खुर्सानीको धुलो र टिमुरको अचार, कागतीको अचार, मेथीको धुलो तथा लेदोको अचार बनाउन सिकेको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता अम्बिका खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को समूह सातु बनाउने तालिममा प्रशिक्षणरत रहेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार उद्यम विकास कार्यक्रम अन्तर्गत यसअघि वडा नं. १ मा दुना टपरी बनाउने तालिम सम्पन्न भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस