यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका क्रु मेम्बर, विदेशी र पहिचान नभएका शव मंगलबार काठमाडौं ल्याइने भएको छ । यसअघि हेलिकप्टरमा सोमबार नै शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी भए पनि अबेर भएकाले मंगलबार मात्र ल्याइने भएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार भेटिएका ६९ मध्ये २४ जनाको शव भने पोखरामै अभिभावकलाई बुझाउने तयारी छ । पोखरामा मृतकका आफन्तलाई शव बुझाउन सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले सोमबार साँझ परिसकेकोले मंगलबार बिहान ९ बजेपछि शव काठमाडौं पठाइने बताए । उनका अनुसार हालसम्म फेला परेका ६९ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । तीनजना अझैँ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती खोंचमा खोजी कार्य जारी राखेको छ । ‘पानीबाहिर देखिएका शव निकालिएको र अन्य शव पानीभित्र रहेको आशंकामा एपीएफको गोताखोर टोलीले खोजिरहेको छ,’ उनले भने, ‘खोंचमा समेत उद्धार टोलीले खोजी कार्य गरिरहेको छ । उद्धारमा नेपाल प्रहरीका दुई कुकुरसमेत परिचालन गरिएको छ ।’
अस्पतालको पोस्टमार्टम गृहमा भएका ६९ मध्ये ४४ शवको पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले बताए । उनका अनुसार ७ सदस्यीय पोस्टमार्टम टिम बनाइएको छ । दुई फरेन्सिक विशेषज्ञ काठमाडौंबाट पुगेका छन् । त्रिवि शिक्षण अस्पतालका डा.गोपाल चौधरी र डा.समारिका दाहाल पोखरा आएका हुन् ।
प्रतिक्रिया दिनुहोस