लायन्स क्लबले खोल्यो अत्याधुनिक मेशिन सहितको मुटु परीक्षणका क्लिनिक

Post Thumbnail
  • २०७९ पौष ५, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • ४७४ पाठक संख्या

  • बनेपामानै अत्याधुनिक मेशिन सहित मुटु परिक्षणको लागि क्लिनिक खुलेको छ ।

    लायन्स क्लब अफ काभ्रे र नेपाल हार्ट फाउन्डेसन, बनेपाको संयुक्त प्रयास एवं लायन्स क्लबस अन्तर्राष्ट्रिय फाउण्डेशनको सहयोगमा सञ्चालन गर्ने गरी बनेपामा मुटु परीक्षणका लागि सहजता प्रदान गर्न अत्याधुनिक मेशिन ल्याइएको छ । मेशिन हस्तान्तरण तथा शुभारम्भ र हार्ट क्लिनिकको समुद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय अध्यक्ष लायन ब्रायन ई शिहानले एक कार्यक्रमका बिच मंगलबार उद्घाटन गरे ।

     

    लायन्स क्लब अफ काभ्रे बनेपाका अध्यक्ष पदम सुन्दर श्रेष्ठका अनुसार मेशिनसँगै इको, ईसीजी, अल्ट्रा साउण्ड, टीएमटी लगायतका उपकरणहरु छन् । काभ्रे शाखाका संस्थापक अध्यक्ष तथा हार्ट क्लिनिक प्रोजेक्ट अध्यक्ष रामराजा धौभडेलले मेशिनको आवश्यकता, त्यसको प्रयोग र निरन्तरताको व्यवस्थापनका लागि कार्य भइरहेको बताए ।

    बनेपाबाट राजधानी जानु पर्ने र राजधानी पुग्दा पनि सहजै एकै दिनमा मुटुको परीक्षण गर्न कठिन भएको परिस्थितिबाट बनेपामा नियमित मुटुको परीक्षण विशेषज्ञ चिकित्सकहरूबाटै गराउने उद्देश्यले लायन्समा आबद्ध तथा गैह्र लायन्स सदस्यहरूको सहयोगबाट १ करोड ४८ लाख मूल्य बराबरका उपकरण प्राप्त गरेको संस्थापक अध्यक्ष धौभडेलले जानकारी दिए ।

    लायन्स क्लबले स्वास्थ्य शिविरहरू, विपदमा सहयोग तथा व्यक्ति र समुदायलाई हित हुने कार्य गर्दै आएको छ । काभ्रेको बनेपामा ४५ वर्ष अघि सामाजिक कार्यका लागि स्थापित भएको उक्त संस्थाले थुप्रै कार्यहरू गरेको छ । उपकरण खरिदका लागि लायन्स क्लब अन्तर्राष्ट्रिय सहित ९४ जनाले ५० हजार भन्दा धेरै आर्थिक सहयोग उपलब्ध गराएका थिए । लायन्स क्लब अफ काभ्रे बनेपाको आफ्नै भवन भएकाले थप खर्च नहुने अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए ।

     

    २०३४ साल चैत्र १७ गते बनेपा शाखाले चार्टर प्राप्त गरी कार्य प्रारम्भ गरेको संस्थाको १९ जना संस्थापकहरुले २०५३ सालमा आफ्नै भवन निर्माण गर्ने योजना अनुरुप बनेपा १ हालको वडा नम्बर ५ घोकेचौरमा भवन निर्माणका लागि रामराजा धौभडेलको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो । श्रीमती चुन्तीमाया चाकुबजीले निःशुल्क जग्गा प्रदान गरी महेन्द्रलाल श्रेष्ठ र विजेन्द्र लाल श्रेष्ठले बाँकी जग्गाको भुक्तानी गरेका थिए । हाल उक्त भवन र जग्गाको २ करोड भन्दा धेरै मूल्य पर्दछ ।

    अन्तर्राष्ट्रिय अध्यक्ष ब्रायन ई शिहानलाई स्थानीय विभिन्न संघ सस्थाका व्यक्तिहरूले स्वागत गरेका थिए । सोही अवसरमा लायन्स क्लबले नमोबद्ध नगरपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस