काँग्रेसको निर्वाचन लक्षित कार्यक्रम : भदौ २४ सम्म ‘जनताको साथमा काँग्रेस’ अभियान

Post Thumbnail
  • २०७९ भाद्र ११, शनिबार मा प्रकाशित २ साल अघि
  • ३०८ पाठक संख्या

  • नेपाली काँग्रेसले मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचन लक्षित गर्दै ‘जनताको साथ काँग्रेस’ अभियान देशैभर सुरु भएको छ । यस अघि २०७९ वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा यस्तै गरी टोल टोलमा काँग्रेस भन्ने अभियानबाट उल्लेख्य नतिजा पाएर हौसिएको काँग्रेसले मंसिरको निर्वाचनमा पनि राम्रो नतिजा पाउनका लागि अभियान चलाएको बुझिएको छ । शनिबार नै पार्टी केन्द्रीय कार्यालयमा प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर गाउँ केन्द्रित अभियान सञ्चालन हुन लागेको बताएका थिए । पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ गतेसम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएपछि सञ्चालन हुने उनको भनाई थियो ।

    यसै कार्यक्रम अनुसार काभ्रेपलाञ्चोक जिल्लाका लागि कांग्रेस केन्द्रिय सदस्य केन्द्रीय प्रतिनिधिका रुपमा रमा कोइराला पौडेलले जिल्ला सभापति तीर्थ लामालाई बुधबार नै जिल्ला पार्टी कार्यालयमा केन्द्रको पत्र हस्तान्तरण गरिन । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दिनु भएको जिम्मेवारीसहितको लिखित पत्रमा पार्टीको विजय अभियान सफल बनाउन जनताको साथमा कांग्रेस अभियानलाई व्यापक बनाउन केन्द्रीय प्रतिनिधिको जिम्मेवारी सुम्पिएको उल्लेख छ । राष्ट्रव्यापी अभियानका लागि खटाइएका केन्द्रीय प्रतिनिधिहरुले जिम्मेवारी पूरा गरेर केन्द्रीय कार्यालयमा लिखित प्रतिवेदन बुझाउने छन् । सो अवसरमा निवर्तमान केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलगायत जिल्ला कार्यसमिति पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    काँग्रेसले राखेको चार उदेश्य :

    कांग्रेसले यस अभियानमा पनि चार उद्देश्य राखेको छ । जसमा मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने उल्लेख छ । यसैगरी, जनताको घर–आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने रहेको छ । तेस्रो उद्देश्यमा कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने रहेको छ । अन्तिम उद्देश्यमा निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने रहेको छ । यसबाट गठबन्धनबारेमा जनमानसमा रहेको भ्रमलाई चिर्न खोजेको देखिन्छ ।

    कांग्रेस केन्द्रले भदौ १० गते अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्न–भिन्न स्वरुपमा गरिने उल्लेख छ । जस अनुसार जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आंकलन गरेर कहिँ जिल्लास्तरीय रुपमा, कहिँ जिल्लाको निर्देशन अनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गर्न सकिने जनाइएको छ । काभ्रेपलाञ्चोक जिल्लामा भने जिल्ला कार्यसमितिले बनेपा पार्टी भेन्यूमा शुक्रबार अपराह्न अभयिानको उद्घाटन कार्यक्रम आयोजना गरेको छ ।

    यस पटक पनि टोल केन्द्रित अभियानलाई ‘फोकस’

    केन्द्रीय निर्देशन अनुसार गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिकास्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर मुलतः सम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिनेछ । उता, नेपाली कांग्रेसको विधानको धारा (५) ले टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित वढीमा १५ जना रहने व्यवस्था गरेकोमा विधान बमोजिम गठन गर्नुपर्ने टोल कार्यसमितिले पूर्णता नपाएको भए अभियानको क्रममा टोल समितिलाई पूर्णता दिनुपर्ने उल्लेख छ । कतिपय टोलका संयोजक पद यो वा त्यो कारणले रिक्त रहेको वा कुनै पदाधिकारी वा सदस्य पद रिक्त भएको भए यो अभियानको यो अवधि पूर्णता दिनुपर्ने निर्देशन रहेको छ ।

    यही अवधिमा टोल कार्यसमिति भित्र पनि फरक विभाग, जिम्मेवारी बाँडफाँड टुंगो गर्नु पर्ने उल्लेख छ । टोल कार्यसमितिको बैठक नियमित रुपले निश्चित समयमा बस्ने टुंगो गराई त्यसको शुरुवात गर्नुपर्ने र बैठकको निर्णय वडामा पठाउने व्यवस्था मिलाउनु पर्ने निर्देशनमा छ । टोल केन्द्रित अभियानका लागि वडा कार्यसमितिसंगको समन्वयमा गाउँ–नगर कार्यसमितिले टोल प्रतिनिधि खटाउने उल्लेख छ । अभियानका क्रममा टोलभित्र टोल कार्यसमितिकै ब्यानरमा कम्तिमा एउटा राजनीतिक कार्यक्रम, कम्तिमा एउटा सामाजिक कार्यक्रम, कम्तिमा एउटा मतदाता संवाद (जसमा विशेषगरी नयाँ मतदाताका कुरा सुन्ने कार्यक्रम), एउटा विकास संवाद (विकास निर्माणका बारेमा छलफल गर्ने), एउटा युवा संवाद (युवा मुद्दाका विषयमा सुन्ने), एउटा महिला संवाद (महिला समुहहरूसंग महिलाका मुद्दाका वारेमा सुन्ने), एउटा दलित समुदाय संवाद (दलित समुदाय र सामाजिक मुद्दावारे छलफल गर्ने) र एउटा क्रियाशील सदस्यहरूसंग संवाद (पार्टीको सांगठनिक अबस्था विष्लेषण गर्ने) लगायतका कार्यक्रम गर्नुपर्ने निर्देशनमा रहेको छ ।

    निर्देशनमा कांग्रेसलाई ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्’, नागरिक पंक्तिबाट सुझाव लिने । कार्यक्रममा आफै बोल्ने भन्दा पनि अन्तरक्रिया गर्ने र जनताका कुरा सुन्ने हुनुपर्ने । सकेसम्म जनताकै आगनमा छलफल गर्ने प्रबन्ध मिलाउनु पर्ने उल्लेख छ । अभियानका क्रममा ‘ज्येष्ठ नागरिक सम्मान’ देखि ‘उत्कृष्ट कार्यको सम्मान कार्यक्रम’ सम्म । समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्दकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्यमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान गर्ने भनिएको छ । अभियानका दौरान टोलमा संचालन हुने विभिन्न सामाजिक काममा सक्रिय रहने । सामाजिक विकृतिका विरुद्ध अग्रसरता लिने उल्लेख छ ।

    निर्देशनमा टोलभित्रको घरधुरी संख्या, घर मुली र परिवारका सदस्य, पेसा व्यवसाय, नेपालभित्र विभिन्न जिल्ला र बाहिर रोजगारीको सिलसिलामा गएको भए सो को विवरणलगायत टोलको विस्तृत विवरण संकलन गर्ने । बाहिर रहेका मतदातासंग सम्पर्क र समन्वय गर्न कार्यसमितिको एक जना सदस्यलाई जिम्मेवारी प्रदान गर्ने र आवश्यकता अनुसार सम्पर्क समन्वय गर्ने उल्लेख छ । टोलभित्रका कांग्रेस सदस्यहरूको विवरण, मतदाताको विवरण, नयाँ मतदाताको अद्यावद्यिक विवरण राखी उनीहरूको घरदैलोमा पुग्ने, समस्या सुन्ने, संवाद गर्ने, पार्टीका गतिविधिबारे जानकारी दिने । मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने । राष्ट्रिय राजनीतिमा पार्टीले लिएका अडान र एजेण्डाबारे टोलवासीलाई सु–सूचित गर्ने, भ्रम निवारण गर्ने । टोल कार्यसमितिका सदस्यलाई निश्चित घर र मतदाता संख्या वाँडफाँट गरी ती मतदातासँग नियमित भेटघाट गर्ने, दुःख सुःखमा सामेल हुने लगायतको जिम्मेवारी दिने कुराहरु केन्द्रीय सर्कुलरमा उल्लेख छ ।

    शुक्रवार देखि काभ्रेमा ‘जनताको साथमा काँग्रेस’ अभियान

    नेपाली काँग्रेसको केन्द्रिय समितिको योजना अनुसार काभ्रेमा पनि ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु भएको छ ।

    बनेपामा जिल्ला समितले एक कार्यक्रमको आयोजना गरि काभ्रे काँग्रेसले अभियानको उद्घाटन गरेको हो । अयिभानको लागि पार्टी केन्द्रबाट खटिएकी काँग्रेसको केन्द्रिय सदस्य रमा कोइरालाले एक समारोहका बीच अभियानको उद्घाटन गरेका थिए ।

    अभियानको उद्घाटन गर्दै प्रमुख अतिथि तथा केन्द्रिय सदस्य कोइरालाले आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले अन्य दलसँग गठबन्धन गर्नुको औचित्यबारे प्रष्ट पारेका थिए । ‘गठबन्धन केपी ओलीको असंवैधानिक कदमको कारण जोडिएको हो । गठबन्धनकै कारण हाम्रो पार्टीको सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुनुभएको हो ।’ कोइरालाले भने, ‘तसर्थ अहिलेको गठबन्धन रहर होइन लाखौं सहिदहरुको त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षा र देश विकासको निम्ति हो ।’ जिल्ला सभापति तिर्थ लामाले अबको चुनावमा सिंगो पार्टी पंक्ति एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । टिकट एउटा व्यक्तिले भन्दा पनि काँग्रेसको सक्रिय र नेतृत्व गर्न सक्ने व्यक्तिले पाउने भएको कारण जसले टिकट पाए पनि जिताउन एकढिक्का भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

    कार्यक्रममा विषेश अतिथिको रूपमा नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आर्चाय, गणेश लामा, बाग्मति प्रदेशका महामन्त्री कन्चन बादे, प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति तथा पाँचखाल नगरका मेयर महेश खरेल, महासमिति सदस्य शार्किमान बल, प्रदेश सभापतिहरु रामहरी श्रेष्ठ, चन्द्र लामा, राम योञ्जन, हेम लामा नमोबुद नगरका मेयर कुन्साङ लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, तेमाल गाउँपालिकाको अध्यक्ष चन्द्र लामा, भुम्लु गाउँपालिकाको उपाध्यक्ष तथा भुम्लुका सभापति दावा लामा, महाभारत गाउँपालिकाको उपाध्यक्ष तथा सभापति सागर मोक्तान, खानीखोला गाउँपालिकाको सभापति तथा उपाध्यक्ष दोर्जेमान जिम्बा लगायतका नेताहरु सहभागी थिए ।

    अभियानकै क्रममा प्रतिनिधि सभा क्षेत्र नं १ ले भोली आईतवार भकुण्डेमा युवा संवाद कार्यक्रम आयोजना गरेको छ भने प्रतिनिधि सभा क्षेत्र नं २ ले सोमबार धुलिखेलमा जनप्रतिनिधि र पार्टीको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

     

    ‘जनताको साथमा कांग्रेस’ अभियानको समयावधि :

    · पहिलो चरण भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म ।

    · दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि ।

    · तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि ।

    अभियानको उद्देश्यः

    १) मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने ।

    २) जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने ।

    ३) कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने ।

    ४) निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने ।

    प्रतिक्रिया दिनुहोस