पाँचखाल/आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारण सभा आइतबार सम्पन्नभएको छ। पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा संस्थाले १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।
साधारण सभालाई सम्बोधन गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले सहकारीहरू युवालाई विदेश पलायनबाट रोक्दै स्वरोजगारमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले पाँचखाल क्षेत्रमा उत्कृष्ट रूपमा कार्य गर्दै आएको आर्थिक विकास मित्र सहकारीले सामाजिक उत्तरदायित्वका कार्यमा समेत सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो।
यसै गरी विशेष अतिथिपपाँचखाल नगरपालिकाको उपप्रमुख सूर्यमाया दनुवारले संस्थाले सदस्यहरूको बचतको सुरक्षा र निष्पक्ष सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
जिल्ला समन्वय समितिकी प्रवक्ता अप्सरा ढुंगाना सिपखानले सहकारीको स्थापनाको उद्देश्य आर्थिक सशक्तीकरण र सामाजिक उत्तरदायित्व रहेको भन्दै संस्था त्यस दिशामा निरन्तर अघि बढिरहेको बताउनुभयो।
पाँचखाल नगरपालिकामा केन्द्रीय कार्यालय रहेको यस संस्थाको ११ हजार ३४० जना शेयर सदस्य, ४ हजार ३१९ बाल बचतकर्ता १० करोड २० लाख रुपैयाँ शेयर पूँजी, ८३ करोड निक्षेप, र १ अर्ब २२ करोड वासलात रहेको छ ।
संस्थाको १९औं बार्षिक साधारण सभामा अध्यक्ष बाबुकाजी पराजुलीले वार्षिक प्रतिवेदन, सचिव रामप्रसाद कोइरालाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष दामोदर दुलालले आर्थिक प्रतिवेदन, र सुपरिवेक्षण संयोजक बद्रीप्रसाद आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीका अनुसार वार्षिक सभाको अवसरमा ‘आर्थिक विकास अवार्ड’सहित विभिन्न विधामा उत्कृष्ट बचतकर्ता, ऋणी, बाल बचतकर्ता, कर्मचारी र व्यवसायीलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस