नाफिज सदस्य क्षेत्रीलाई बीमा रकम हस्तान्तरण

  • २०८२ आश्विन १०, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • २२६ पाठक संख्या

  • काठमाडौं/नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ बराबरको बीमा दावी रकम हस्तान्तरण गरेको छ ।

    नाफिजले सदस्य लक्ष्मी बुढा क्षेत्री (लिजा)लाई बीमा दावी वापत उक्त रकम हस्तान्तरण गरेको हो । नाफिजले गत पुस २९ गतेदेखि लागू हुने गरि आफ्नो २३५ जना सदस्य तथा सल्लाहाकारहरुको जनही ७ लाख रुपैयाँका दरले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा सामूहिक दुर्घटना बीमा गरेको थियो ।

    बीमा दायरामा रहेकी क्षेत्रीलाई उपचार खर्च वापत बीमा कम्पनीबाट आएको उक्त दावी रकम हस्तान्तरण गरिएको हो ।

    नाफिजकी सदस्य क्षेत्री गत वैशाखमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी थिइन् । उनको खुट्टाको शल्यक्रिया समेत गर्र्नु परेको थियो । त्यसपछि नाफिजले सलिकोमा दावी पेश गरेको थियो । आवश्यक प्रक्रिया पुरा गरेर दुवै कम्पनीको नामबाट सलिकोले नाफिजको बैंक खातामा बीमा दावी वापत एक लाख रुपैयाँ भुक्तानी गरेको थियो । नाफिजले बुधबार सोही रकम क्षेत्रीलाई हस्तान्तरण गरेको हो ।

    उक्त रकम हस्तान्तरण गर्दै नाफिजकी अध्यक्ष मेनुका कार्कीले बीमाका कारण पत्रकारहरुलाई आर्थिक सुरक्षा प्रदान गर्न सहज भएको बताउनु भयो। ‘आर्थिक पत्रकारहरुलाई पनि रिपोर्टीङका क्रममा विभिन्न जोखिम हुन्छ । त्यस्ता जोखिमबाट हुने क्षतिलाई आर्थिक सुरक्षा प्रदान गर्न हामीले नाफिज सदस्यहरुको दुर्घटना बीमा गरेका थियौं । यसले नाफिजका अन्य सदस्यहरुलाई पनि आर्थिक सुरक्षा प्रदान गरेको छ,’ उहाँले भन्नुयो, ‘नाफिज आफ्ना सदस्यहरुको जोखिम रक्षावरण गर्न आगामी दिनमा बीमाको दायरा थप बढाउने योजनामा छ ।’

    नाफिजले गरेको यो बीमाको म्याद आगामी पुस २८ गतेसम्म रहेको छ । त्यसपछि त्यसको नविकरण गरिनेछ । सम्झौता अनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति ७ लाखका दरले दुर्घटना बीमा भएको छ । नाफिजले आगामी दिनमा आफ्ना सदस्यहरुको हितका लागि स्वास्थ्य बीमा पनि गर्ने योजनामा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस