बनेपा / नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको मतदाता नामावलीप्रति असन्तुष्टी जनाउँदै नेपाल प्रेस युनियन काभ्रेले पत्रकार महासंंघ काभ्रेको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघले सार्वजनिक गरेको नामावली नसच्याइ, सदस्यताको न्यायपूर्ण टुंगो नलगाई साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन युनियनले चेतावनी समेत दिएको छ ।
विधान बमोजिम जिल्ला शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको मतदाता नामावाली आफूलाई मान्य नभएको भन्दै युनियन काभ्रेले तालाबन्दी गरेको हो । सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियन काभ्रेको ठहर छ ।
महासंघको विधान र महाधिवेशनको म्यान्डेड अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट नामावली तयार गरी सार्वजनिक गरिएकाले प्रेस युनियन काभ्रेलाई मान्य नभएको जनाएको छ । विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियनले माग समेत गरेको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले सर्वसम्मत रुपमा टुंगो लगाएर प्रदेश र केन्द्रमा पठाएको नयाँ सदस्यता समेत स्विकृत गरी कृयाशिल पत्रकारहरुको सदस्यता पाउने हक सुनिश्चित गर्न पनि अनुरोध समेत गरेको छ ।
युनियनको माग विपरित अधिवेशन /साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं महासंघ नै हुने समेत युनियनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस