धुलिखेल/निर्माण व्यवसायीको लापरवाहिका कारण लामो समयदेखि निर्माण हुन नसकेको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड कालोपत्रे गर्ने काम सुरु भएको छ । साढे तीन वर्षअघि धुलिखेल–खावा सडक विस्तारको काम सुरु गरिए पनि निर्माण व्यवसायीका कारण सडकको काम पुरा हुन सकेको थिएन ।
१४ महिनाभित्र सडकको काम पुरा गर्ने सर्त अनुसार कात्तिक २४ गते सडक डिभिजन भक्तपुर र सिएम/एवान/काली जेभी काठमाडौँबीच नयाँ ठेक्का सम्झौता भएपछि सडक विस्तारको कामले गति लिएको थियो ।
सडक विस्तारको कामले गति लिएसँगै शनिवार रातीदेखि सडक कालोपत्रे गर्ने काम सुरु गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले निर्माणाधिन अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा दिउँसो र राती समयमा सवारी साधन सञ्चालनमा रोक लगाएर सडक कालोपत्रेको काम सुरु गरिएको बताउनुभयो ।
शनिबार रातीदेखि कालोपत्रेका लागि गर्नुपर्ने कामहरुमा तिव्रता दिइएकोले चैत २० गतेसम्म उक्त खण्डमा ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय भएको बताउनुभयो । गत शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सरोकारवालाको बैठकले सडक कालोपत्रे गर्ने समयमा ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।सिडिई योगेशले सडक कालोपत्रे अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवहाक बस, मालवहाक तथा चार पाङ्ग्रे सवारी साधन समेत चलाउन रोक लगाइएको बताउनुभयो । उहाँले सडकमा दिउँसोको समयमा एक साइडमा काम गर्ने र अर्को साइडबाट साना तथा यात्रुवहाक सवारी साधनलाई छोडिएको बताउनुभयो । मालवहाक सवारी साधनलाई भने पाँचखाल–रविओपी–बनेपा, कुन्ताबेशी– नयाँगाउँ–नगरकोटहुँदै भक्तपुरतर्फ पठाइएको छ । उहाँले नयाँ ठेक्का सम्झौता बमोजिम चैत महिनाभित्र कालोपत्रे गरिसक्ने उल्लेख भए अनुसार कालोपत्रे सुरु गरिएको बताउनुभयो । गत कात्तिक २४ गते १४ महिनाभित्र धुलिखेल–खावा सडक खण्डको काम सम्पन्न गर्ने गरी सडक डिभिजन र सिएम÷एवान÷काली जेभी काठमाडौँबीच ३१ करोड ५६ लाख रुपियाँको सम्झौता भएको थियो । सडक डिभिजनले धुलिखेलदेखि खावासम्मको सडक सात मिटर चौडाईको रहने जनाएको छ ।
सिडिई योगेशले सडक कालोपत्रेसँगै सडकमा रहेको पहिरो व्यवस्थापनका लागि स्वायल नेलिङ, जुट नेटिङ, सर्फेस ड्रेनेज (भित्री भागको पानीलाई पाइपको माध्यमबाट पानी बाहिर निकाल्ने काम)लगायतका केही नयाँ काम गरिएको बताउनुभयो । उहाँले अहिले सडक कालोपत्रेको काम गरिने र सडक कालोपत्रेपछि पहिरो नियन्त्रणका साथै सडकका बाँकी कामहरु अघि बढाइने बताउनुभयो ।साढे तीन वर्षअघि सुरु गरिएको सडक नबन्दा अरनिको राजमार्ग भएर जाने काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखाका यात्रुहरुले ठुलो सास्ती व्यहोर्नु परेको थियो । डिभिजन प्रमुख सिडिई योगेशले धुलिखेल–खावा सडक खण्डमा ट्रिपर धेरै गुड्ने भएकोले सडकको दिगोपनाको लागि (सिटिपी) सिमेन्ट बेश, (डिबिएम) डेन्स विटुमेन्स मेकाडम हालिने बताउनुभयो ।
यसअघि सम्झौता भएको २२ महिनाभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी धुलिखेलदेखि–खावासम्मको चार दशमलव १५५ किलोमिटर सडक विस्तार गर्नका लागि सडक डिभिजन भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते ठेक्का सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले पटक/पटक म्याद थप गर्दा समेत सन्तोषजनक काम नगरेपछि डिभिजनले २०८१ फागुन १५ गते निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस