प्रविधि बढ्यो, तर पहुँच घट्यो नेपालमा ४२ प्रतिशत क्षयरोगी अझै उपचार बाहिर

  • २०८२ चैत्र ११, बुधबार मा प्रकाशित १ दिन अघि
  • २५ पाठक संख्या

  • धुलिखेल/बिहानैको चिसो हावा, धुलाम्य बाटो र लामो समयदेखि लागेको खोकी—यस्ता लक्षणलाई धेरै नेपालीले सामान्य रूपमा लिन्छन् । तर यिनै ‘सामान्य’ लाग्ने संकेतहरू प्रायः घातक रोग—क्षयरोग (टिबी)का सुरुवाती चिन्ह हुन सक्छन् । समस्या के भने, धेरैजसो मानिस यसलाई समयमै चिन्दैनन्, र चिने पनि लुकाउँछन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकले नेपालमा क्षयरोगको गम्भीरता उजागर गर्छ । देशमा हरेक वर्ष करिब ६७ हजार नयाँ बिरामी थपिन्छन्, तर तीमध्ये ठूलो हिस्सा अझै स्वास्थ्य प्रणालीको पहुँचभन्दा बाहिर छ ।
    स्वास्थ्यकर्मीहरूका अनुसार नेपालमा ४० प्रतिशतभन्दा बढी क्षयरोगी अझै पहिचानमै आउँदैनन् वा उपचारमा जोडिँदैनन् । उनीहरू यसलाई ‘मिसिङ केस’ भन्छन्—यस्ता बिरामीहरू जसले न त परीक्षण गराउँछन्, न त उपचारमा आउँछन् । यही समूह सबैभन्दा जोखिमपूर्ण पनि हो । किनकि उनीहरूबाट रोग समुदायमा फैलिरहन्छ । क्षयरोगको औषधि निःशुल्क छ, उपचार सम्भव छ, तर समस्या औषधिमा होइन, मानिसको सोचमा छ । धेरै ठाउँमा अझै पनि क्षयरोगलाई लाजमर्दो रोगका रूपमा हेरिन्छ । बिरामीले परिवार र समाजबाट टाढा पारिने डरले रोग लुकाउँछन् । परिणामतः उपचार ढिला हुन्छ, संक्रमण फैलिन्छ ।
    विश्व स्वास्थ्य संगठन का अनुसार विश्वभर प्रत्येक वर्ष करिब एक करोड सात लाख मानिस सक्रिय क्षयरोगबाट पीडित छन् । तीमध्ये करिब १२ लाख ३० हजार मानिसको मृत्यु यसै रोगका कारण हुने गरेको तथ्यांकले देखाउँछ । यस्तो भयावह अवस्थामा पनि क्षयरोगलाई रोकथामयोग्य र उपचारयोग्य रोग मानिन्छ—तर समस्या यसको पहिचान र उपचारसम्म पहुँचमा छ ।
    नेपालको सन्दर्भ झन् चुनौतीपूर्ण छ । राष्ट्रिय क्षयरोग केन्द्र का निर्देशक डा. भुवन पौडेलका अनुसार देशमा करिब ४२ प्रतिशत क्षयरोगी अझै उपचारको दायराभन्दा बाहिर छन् । यो संख्या केवल तथ्यांक मात्र होइन, स्वास्थ्य प्रणाली र सामाजिक व्यवहार दुबैको कमजोरीको संकेत हो । विशेषज्ञहरूका अनुसार क्षयरोगी उपचारमा नआउनुका मुख्य कारणहरूमा सामाजिक कलंक, रोग लुकाउने प्रवृत्ति, परीक्षणप्रति उदासीनता र पहुँचको अभाव प्रमुख छन् । धेरै बिरामीहरू लक्षण देखिए पनि परीक्षण गराउन हिच्किचाउँछन् । कतिपयले रोगको पहिचान भए पनि समाजबाट बहिष्कार हुने डरले जानकारी लुकाउने गर्छन् ।
    डा. पौडेलका अनुसार रोग लुकाउने प्रवृत्ति र परीक्षण नगर्ने बानीले संक्रमण झन् फैलिरहेको छ । यसले केवल एक व्यक्तिलाई मात्र होइन, परिवार र समुदायलाई समेत जोखिममा पार्छ । आर्थिक वर्ष २०८१÷८२ मा नेपालमा ३९ हजार १५१ नयाँ क्षयरोगी पहिचान भएका छन् । तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र ५ दशमलव ६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन् । यो तथ्यांकले देखाउँछ कि क्षयरोग कुनै एक समूहमा सीमित छैन, सबै उमेर र लिंगका मानिसहरू प्रभावित भइरहेका छन् ।
    सरकारले क्षयरोग नियन्त्रणका लागि देशभर ६ हजार २४१ स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध गराइरहेको छ । ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालन भइरहेको छ । साथै, औषधि–प्रतिरोधी क्षयरोगका लागि ३१ उपचार केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन् । पछिल्ला वर्षहरूमा प्रविधिको प्रयोग पनि बढाइएको छ । एआई जडित डिजिटल एक्स–रे प्रणाली प्रयोग गरी छिटो र प्रभावकारी परीक्षण गर्ने प्रयास भइरहेको छ। यस्ता प्रणालीहरू विशेष गरी दुर्गम क्षेत्रमा उपयोगी सावित हुन थालेका छन् ।
    तर यति प्रयासका बाबजुद पनि किन ४२ प्रतिशत बिरामी उपचार बाहिर छन्? विशेषज्ञहरू भन्छन्, ‘सेवा उपलब्ध हुनु मात्र पर्याप्त छैन, सेवामा पहुँच, जनचेतना र व्यवहार परिवर्तन पनि उत्तिकै आवश्यक छ ।’ हाल १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ सञ्चालन भइरहेको छ। यस अभियानले समुदायस्तरमै सचेतना फैलाउने, घरदैलोमै परीक्षण सेवा पु-याउने र बिरामीलाई उपचारमा ल्याउने लक्ष्य राखेको छ’ । तर स्थानीय तहमा जनशक्ति अभाव, पर्याप्त स्रोतको कमी र निरन्तर अनुगमनको अभावले अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन।
    नेपालले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ। तर वर्तमान अवस्थालाई हेर्दा यो लक्ष्य चुनौतीपूर्ण देखिन्छ। विशेषज्ञहरू भन्छन्—यदि हालको ४२ प्रतिशत ‘मिसिङ केस’ (पहिचान बाहिर रहेका बिरामी) लाई उपचारमा ल्याउन सकिएन भने लक्ष्य हासिल गर्न गाह्रो हुनेछ । क्षयरोग नियन्त्रण केवल सरकार वा स्वास्थ्य संस्थाको जिम्मेवारी मात्र होइन । यसमा समुदाय, परिवार र व्यक्तिगत व्यवहारको पनि ठूलो भूमिका हुन्छ । समयमै परीक्षण गराउने, रोग लुकाउने प्रवृत्ति अन्त्य गर्ने र उपचारलाई निरन्तरता दिने संस्कार विकास गर्नु आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस