गाउँमै केही गर्न सकिन्छ भन्ने सन्देस छर्दै प्रध्दुन

  • २०८२ कार्तिक २६, बुधबार मा प्रकाशित १ महिना अघि
  • १६३ पाठक संख्या

  • बनेपा नगरपालिका वडा नं ५ का प्रदुमन थापा अहिले आफैले चलाएको पोल्ट्री व्यवसायमार्फत नयाँ उचाइतर्फ उभिइरहेका छन् । उहाँले आफ्नै घर नजिकै रहेको “सनसाई एग्री कल्चर एण्ड पोल्ट्री फार्म”मा लेस जातको कुखुरा उत्पादन गर्दै आइरहनुभएको छ । अहिले उक्त फार्ममा १८ हजार वटा लेस कुखुरा पाललिएका छ । जहाँ, दैनिक करिब ८४ बाक्सा अण्डा उत्पादन भइरहेको छ । त्यहाँ उत्पादन गरेर काठमाडौ लगायतका विभिन्न ठाउँमा बिक्रीका लागि पठाइन्छ । खुदै रिटेल कारोबारमार्फत ब्यवस्थापन गर्ने गरेकाले गर्दा बजार व्यवस्थापन केही सहज भएको छ ।
    उहाँको लेस बाहेक अरु जातका कुखुरा पालन गर्ने कुनै सोच छैन । ब्रोइलर कुखुरा पालन गर्नको लागि अरुबाट सुझाब आए पनि आफुले योजना अहिले सम्म अघि नबढाएको उहाँको भनाई छ । कारण ब्रोइलर पालन गर्दा उत्पादन भएसँगै तुरुन्त बेच्नु पर्ने हुन्छ र फ्रिज गरी लामो समय राख्न मिल्दैन । तर अण्डा भने बजार भाव हेरेर थोरै समय फ्रिज गरेर अलि महँगो भएको बेलामा बेच्न सकिने भएकाले उहाँले लेस कुखुरा र अण्डा उत्पादनलाई प्राथमिकता दिनुभएको हो ।
    थापाको फार्ममा अहिलेसम्म करिब ३ करोड रुपैयाँ बराबरको लगानी भइसकेको छ, र यो व्यवसायमा आम्दानी भने बजार भाउँमा निर्भर रहने उहाँको भनाई छ । उहाँ आफूले उत्पादन गरेको र आम्दानीबाट प्राप्त भएको नतिजामा निकै सन्तुष्ट हुनुहुन्छ । उहाँ बताउनुहुन्छ, “म आफ्नै ठाउँ, आफ्नै घर नजिकै यही पेशामा लागेकोमा खुशी छु, किनभने विदेशमै बस्ने विकल्प छोडेर नेपालमै केही गरौं भन्ने लालसा पूरा भएको छ ।”
    उहाँले छ जना कामदार राख्नुभएको छ, जसले मासिक तलब पाउँछन् । यसले स्थानीय रोजगारी सिर्जना भएकोमा पनि उहाँ गर्वित छन् । उहाँले कक्षा १० सम्म अध्ययन गर्नुभएको छ । २४ वर्षे उमेरमा वैदेशिक रोजगारीका लागि जानुभएको थियो । तर अहिले उहाँले विदेश जानु भन्दा नेपालमै यही पेशामा सम्भावना देख्नुभएको छ । थापाले सहुलियत कर्जा(सस्तो ब्याजदरमा ऋण) उपलब्ध भयो व्यवसाय आरम्भ गर्न निकै सहज हुने बताउनुहुन्छ । अफु पनि त्यस्तै कर्जा लिएर काम सुरु भएको उहाँको अनुभव छ । तर उहाँको भनाइमा ‘वास्तविक किसानले सहुलियत कर्जा पाउने दर निकै कम छ, भने केही अवास्तविक किसानले धेरै ऋण लिने गरेको अवस्था देखिएको छ ।’ यसले नेपालमा नै केही गर्छु भन्नेहरुको लागि समस्यामा पार्न गरेको उहाँ बताउनुहुन्छ ।
    भविष्यका योजनाहरु पनि ठूला छन् । थापाको लक्ष्य थप १ लाख वटा कुखुरा अट्ने क्षमता हुने नयाँ फार्म निर्माण गर्नु हो । यसरी व्यवसायलाई अझै बृहत् रुपमा विस्तार गर्ने सोच उहाँले राख्नुभएको छ । उहाँका तीन छोराछोरी छन् – छोरीको बिहे भइसकेको छ भने अन्य छोराहरु पनि क्रमशः आफ्नो खुट्टामा उभिसकेका छन् । आफूले छोराछोरीलाई लिएर केही गर्न सक्नुभएकोमा थापा निकै खुसी महसुस गर्नुहुन्छ । उहाँ उमेरले ४८ वर्ष पुग्नुभयो ।
    अझै नयाँ उत्पादनका रूपमा उहाँले एउटा नयाँ व्यवसायको आरम्भ गर्नुभएको छ । जसको नाम हो चण्डेश्वरी पेपर रिसाइक्लिङ एण्ड ट्रे उद्योग । अण्डा उत्पादनसँगै “क्रेट” अर्थात् अण्डा राख्ने उद्यमी त्पादन सुरु गरर्नुभएको छ । २ सय बण्डल क्रेट हरेक दिन उत्पादन हुँदै आएको छ । यसले अण्डा बिक्रीका लागि प्रस्तुति र प्याकेजिङ्गमा सहजता ल्याएको उहाँ बताउँनुहुन्छ । सुरुमा मात्र ५ सय वटा कुखुराबाट आरम्भ गरेको यो व्यवसाय अहिले १८ हजार कुखुरा पुगेको छ र ‘आफ्नो काममा प्रगति भएको महसुस’ भन्ने उहाँको अनुभव छ ।
    थापाले कम लागत तथा संसाधनबाट सुरु गरेर, साहस र लगानीले कसरी ग्रामीण क्षेत्रमा व्यवसाय सफल बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुभएको छ । तर यसले चुनौतीहरुलाई पनि उजागर गरेका छ । पोल्ट्री उद्योगमा लाग्ने फिड खर्च, अण्डा/मासुको भावमा अनिश्चितता, कर्जा र बजारसम्म पहुँच जस्ता समस्याहरु छन् । वास्तवमा नेपालमा पोल्ट्री व्यवसायले राम्रो भूमिका खेलिरहेको छ ।
    उहाँका अनुसार, बजार भाउ हेरेर अण्डा बिक्री गर्न सकिने हुँदा, र रिटेल कारोबार आफैं सञ्चालन गर्नाले मध्यस्थकर्ताको कमी आएको हुँदा व्यवसाय चलाउन सजिलो भएको छ । उहाँ भन्नुहुन्छ, “फिडको मूल्य निरन्तर बढिरहेको छ र हामीले बजार भाउ पर्याप्त नभएको बेला पनि लगानी गर्नुपर्ने पर्छ । यसले जोखिम बढाउँछ । वास्तवमा हाल नेपालको पोल्ट्री व्यवसायमा उच्च लागत र कम आम्दानीले किसानहरुलाई चिन्तित बनाएकै छ ।”
    थापा अरु किसानहरूलाई सुझाव दिनुहुन्छ, “यदि तपाईंले नेपालमै केही गर्छु भन्ने सोच्दै हुनुहुन्छ भने सहुलियत ऋणको बारेमा राम्रो जानकारी राख्नुस् , बजार र विक्रीको योजना तयार गरि अघि बढ्नुस् ।” यो व्यावसायिक सोच मात्र होइन, सामाजिक उत्तरदायित्व पनि हो । स्थानीय रोजगार सृजना गर्दै, आफ्नै उत्पादन बेचेर आत्मनिर्भर बन्नु हो । जहाँ साहस, लगानी र योजनाले सफल व्यावसायिक यात्रा बनाउन सक्छ । साधन र अवसरले भरिएको हुँदाहुँदै पनि बजार र उत्पादन लागतको अस्थिरताले चुनौती दिन सक्छ ।”

    पलाञ्चोक साप्ताहिकमा प्रकाशित

    प्रतिक्रिया दिनुहोस