काठमाडौंबाट करिब २६ किलोमिटर पूर्वको अर्को पहाडी उपत्यका हो बनेपा। अधिकांश नगरहरूझैँ अव्यवस्थित फोहोर बनेपाको समस्या छँदै छ। अर्को समस्या हो डुबान।
बनेपाको केन्द्र मानिने चार दोबाटोबाट साँगातर्फ बजार क्षेत्रलाई चिरेर पुन्यमाता खोला बग्छ।
यही पुन्यमाताले पहाडी उपत्यकाको बनेपा बजारलाई डुबान क्षेत्र बनाइदिएको छ।
नगरप्रमुख शान्तिरत्न शाक्यका अनुसार करिब साढे एक दशकयता बनेपा डुबान क्षेत्रका रूपमा चिनिन थालेको छ। बजार क्षेत्रमा खोलो साँधुरिएको त छँदैछ, त्यस सँगै खोलो पुरिँदै जाँदा बजार डुबानमा पर्न थालेको छ।
हालै सम्पन्न स्थानीय निर्वाचनबाट मेयर पदको कार्यभार सम्हाल्नसाथ शाक्यले पुन्यमाता खोला सफा गर्ने अभियान नै चलाएका छन्। खोलाभित्र जमेको धेरै फोहोर दुई सातामै बाहिर निकालिएको छ।
शाक्य यसपालिको बर्खामा पुन्यमाता खोलाको डुबान हुनेछैन भन्ने विश्वासमा छन्। उनले यही जेठ महिनामा भएका तीन वटा ठूला वर्षा नियाल्दा एक पटकमात्रै करिब पन्ध्र मिनेट डुबानका कारणले बाटो रोकियो। पोहोर सालको आधारमा त तीन पटक नै डुबान हुनुपर्ने थियो तर भएन।
बनेपाका बासिन्दाहरूका अनुसार व्यवस्थापनको सही तरिका अवलम्बन नगर्दा सहरमा फोहोरको समस्या बढेको हो।
जयन्द्र वादेका विचारमा विकासको कुनै पनि कामले विनाश निम्त्याउनु हुँदैन। जसरी रक्तदान गर्दा दाताको जीवन जोगाइन्छ ठिक त्यसरी नै विकास गर्दा प्राकृतिक वातावरण जोगाउनु पर्छ। उनको प्रश्न छ, ‘रक्तदान जीवन दान हो तर दाताकै ज्यान जान्छ भने के गर्नेरु’
उनको विचारमा अकासे पानी संकलनबाट सहरको डुबान कम गर्न सकिन्छ। नगरवासीमा अनुशासन र नियम पालनामा कडाइ गर्नुपर्ने पनि उनको सुझाव छ।
मित्र घिमिरे फोहोर व्यवस्थापन सम्बन्धी निजी कम्पनी ‘परिवर्तन सेवा प्रालि’ का सञ्चालक हुन्। सबै खालको फोहोर मिसावट भएका कारण नै फोहोर व्यवस्थापनमा समस्या भएको उनको ठम्याई छ।
कुहिने, नकुहिने र रिसाइकल अर्थात पुनर्चक्रण हुने फोहोर घरमै छुट्याएर संकलन गर्ने हो भने व्यवस्थान सहज हुन सक्ने उनी बताउँछन्।
‘स्रोतमै फोहोर छुट्याएर संकलन गर्ने हो भने कम्पनीले पन्ध्र रोपनी जमिनमा बनेपाको सबै फोहोर व्यवस्थापन गर्न सक्छ’ उनले भने।
बनेपाका अर्का बासिन्दा सुजन मानन्धरका विचारमा प्लास्टिक प्रयोग फोहोरको मुख्य समस्या हो।
सरकारी, गैरसरकारी र व्यावसायिक सबै किसिमका कार्यालयहरूलाई प्लास्टिक झोला प्रयोग नगर्न आह्वान गर्न नगरपालिकालाई उनको सुझाव छ।
उनले यस्ता कार्यालयहरूले मात्रै प्लास्टिक प्रयोग नगर्ने हो भने पनि फोहोर व्यवस्थापन निकै सहज हुने बताए।
रघुनाथ घिमिरे पनि बनेपाकै बासिन्दा हुन्। उनले फोहोर र डुबनाको समस्या देखेको दुई दशक जति भयो। यो समस्या हरेक वर्ष बढ्दै छ। बनेपा, धुलीखेल र पनौती तीनवटै नगरपालिका मिलेर काम गर्ने हो भने फोहोर व्यवस्थापन सहज हुने उनको धारणा छ।
दैवज्ञराज कायस्थलाई चाहिँ नेपालीहरू कुरा गर्छन्, योजना बनाउँछन् तर काम गर्दैनन् भन्ने लागेको छ। फोहोर फाल्न कतै रोकतोक छैन। स्कुलमा फोहोर व्यवस्थापन सम्बन्धी शिक्षा छैन।
उनका विचारमा नेपालीमा शिक्षा, चेतना र अनुशासन बढाउन आवश्यक छ।
निजामती सेवाबाट अवकाश प्राप्त इन्जिनयर देवकुमार तामाङका अनुसार शहरी क्षेत्रमा जमिनले पानी सोस्ने क्रम धेरै मात्रामा घटेको छ।
बढ्दो क्रंक्रिट संरचनाका कारण सहरमा भेलको समस्या बढ्दो छ। जमिनले सोस्न नपाएर भेल भएर बग्ने र जमिनले सोसेपछि पनि बढी भएर बग्ने पानीको मात्र हिसाब गरेर
शहरी भल व्यवस्थापन गर्न आवश्यक भएको छ।
बस्ती नभएको गहिरो ठाउँ केही वर्ष फोहोरले पुरेर जमिन सम्याउन र त्यहाँ बस्ती बसाउन सकिने उनको धारणा छ।
विश्व वातावरण दिवसका अवसर आइतबार बनेपा नगरपालिकाले एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो। यसै अवसरमा स्थानीयबासिन्दाहरूले उक्त विचार प्रकट गरेका हुन्।
कार्यक्रमका मुख्य प्रस्तोता डा. नवराज खतिवडा थिए। उनका अनुसार जनप्रतिनिधि निकाय विज्ञहरूको रायसुझाव लिएर योजनाबद्ध ढंगले अघि बढ्ने हो भने बनेपा नगरपालिका स्याटलाइट सिटी बन्न सक्छ, अर्को नयाँ बनेपा निर्माण हुन सक्छ। नयाँ बनेपाको अर्थ हो व्यवस्थति बनेपा।
खेतीका लागि अयोग्य जमिन प्राप्त गरेर नगरले व्यवस्थित बस्ती बसाउन सक्छ।
खतिवडाका अनुसार वरिपरी डाँडाले घेरिएको बनेपा नगरले अत्यन्त कम खर्चमा ट्रेकिङ रूट अर्थात पदमार्ग बनाएर पर्यटन विकास गर्न सक्छ।
काठमाडौं विश्वविद्यालयको विज्ञताबाट काभ्रेका सबै नगरपालिकाले लाभ लिन सक्छन्। यसतर्फ बनेपा, धुलीखेल र पनौती तीन वटै नगरपालिकाले ध्यान दिन नसकेको उनको टिप्पणी छ।
अर्का प्रस्तोता नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङका अनुसार पुण्यमाता खोलाले गराउने डुबान र बाढीको समस्या मानवसिर्जित हो। यसको किन हो भने मानिसको गतिविधि आफूकेन्द्रित छ। मानिस तत्कालको आफ्नो फाइदामात्रै सोच्छ। वातावरणीय समस्याको मुख्य जड नै यही हो।
दीर्घकालीन सोचले काम गर्ने हो भने जंगल र पानी भएको बनेपा नेपालकै सुन्दरतम नगरपालिका बन्न सक्छ। स्रोतमै फोहोर वर्गीकरण गराएर संकलन गर्ने, मल बनाउने, पुनर्चक्रण गर्ने जस्ता उपायबाट फोहोर व्यवस्थापन गर्न उनको सुझाव छ। अस्पतालको घातक फहोर र ब्याट्रीको व्यवस्थापन फरक ढंगले गर्नुपर्छ।
खासमा फोहोर आफैँमा समस्या होइन, मुख्य समस्या व्यवस्थानपमा छ। डम्पिङ साइटबाट निस्कने मिथेन ग्यासको उपयोगबारे कुनै सोच र कार्यक्रम नै छैन।
पूर्वसचिव तामाङका अनुसार शहरी क्षेत्रका खोला स्रोत हुनुपर्नेमा नेपालमा समस्या भएका छन्। व्यवस्थापन कौशल भएको भए शहरी क्षेत्रका खोलाहरू पर्यटकीय क्षेत्र भएर आम्दानीका स्रोत हुने थिए।
नेपाल दुई ठूला प्रदूषक मुलुक भारत र चीनका बीचमा छ। नेपालले त्यो प्रदूषणको असर व्यहोर्नु परेको छ। तामाङका अनुसार गत वर्ष मेलम्चीमा आएको बाढी, हिमालमा पातलिँदो हिउँ, जलवायु परिवर्तन प्रदूषणकै परिणाम हो।
बनेपा नगरप्रमुख शाक्यका अनुसार मुख्य शहरी क्षेत्रका दुई वटाबाहेक अन्य बाह्र वटा वडाले आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्न पनि सक्छन्। यसो गर्न असम्भव छैन किनभने ती वडाहरूमा जमिनको अभाव छैन।
शाक्य आफ्नो कार्यकालमा बनेपालाई सुन्दर र हराभरा बनाउने अभियानमा छन्। उनी पहिलो नगरपरिषद बैठकबाट पारित गराएर घरघरबाट नगरपालिकाले फोहर किन्ने योजनामा छन्। नगरपालिकाकै रिसाइकल अर्थात पुनर्चक्रण उद्योग खोल्ने उनको योजना छ। अस्पतालको घातक फोहोर फरक तरिकाले व्यवस्थापन गर्ने उनको सोचाइ छ।
उपप्रमुख विमला सापकोटाका अनुसार धुलो, धुवाँ र ध्वनि बनेपाको अर्को समस्या हो। नगरपालिका यी समस्या समाधान गर्न अग्रसर छ।
‘नगरमा समस्याहरू छन् र समाधानका उपाय पनि छन्। यसो हुँदाहुँदै तेस्रो तर सबैभन्दा ठूलो समस्या हो राजनीतीकरण’ उने भनिन्, ‘जनप्रतिनिधिहरूको गुनासो के छ भने एउटाले काम गर्न खोज्छ अर्कोले रोक्न खोज्छ। राम्रो काम गरेर लोकप्रियता पो बढाउने हो कि भन्ने ईष्या र प्रतिशोधको भावना विकास विरोधी हो।’
यसो भए पनि बनेपा नगरप्रमुख शाक्यलाई थाहा छ, निर्वाचित जनप्रतिनिधिमा सबै पक्षसँग समन्वय कौशल आवश्यक पर्छ र उनी यसका लागि प्रतिवद्ध छन्।
सेतोपाटी डटकमबाट
प्रतिक्रिया दिनुहोस