नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध लगातार दोस्रो खेलमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको छ ।
दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा खेलको १० औं मिनेटमा सुजल श्रेष्ठको एक मात्र गोलले नेपाल विजयी भएको हो ।
लगत्तै मरिससले बराबरी गर्ने अवसर पाएपनि सफल भएन । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । १३औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान चेम्जोङले दाया डाइभ गर्दै बचाएका थिए । मंगलबारको खेलको म्यान अफ दि म्याच चेम्जोङ नै बने ।
दोस्रो हाफ तनावपूर्ण बन्दा मरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाए । ७१औं मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि मरिससका एड्रिएन बट्लर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए ।
यस्तै ८०औं मिनेटमा मरिससका एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए । अन्तिम दश मिनेट मरिसस ९ खेलाडीमा समेटिएर खेल्दा नेपालले पनि दश खेलाडीमा रहेर खेलेको थियो ।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलमा तनाव हुनु दुखद भन्दै यसलाई बिर्सनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस