कल्पनै गर्न नसकिने एउटा घटना : बीमारकम हात पार्न दुर्घटना गराएर हत्या

Post Thumbnail
  • २०७९ श्रावण १३, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३८१ पाठक संख्या

  • बाँकेमा एउटा कल्पनै गर्न नसकिने घटना घटेको छ । एक व्यक्तिले गरेको करोडौ विमा रकम लिने लोभमा एक युवाको हत्या गरेको खुलेको हो । नेपाल प्रहरीले कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल लगायतलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको छ । मल्लले कोहलपुर–११ का २१ वर्षीय सर्जन विकसँग नक्कली बिहे समेत गरेको देखिएको छ ।

    ०७७ फागुन २८ मा डिपेन्डेडमा अष्ट्रेलिया पठाउन कन्सल्टेन्सीले भने पछि मल्लले विक सँग विवाह गरेकी थिईन ।

    कसरी प्रयोग भईन मल्ल ?

    मल्ललाई डिपेन्डेन्ट भिसामा विदेश पठाउने प्रतिबद्धता जनाएका सञ्जीव अर्याल र कोहलपुरकै साथी ललिताकुमारी सापकोटाले बिहे गरेर अष्ट्रेलिया गए सहज हुने र त्यसको लागि ‘कोहलपुर–११ का २१ वर्षीय सर्जन विकसँग बिहे गराईदिने आश्वासन दिए । विकको अष्ट्रेलिया जान भिसा आइसकेको भन्दै उनलाई तत्काल ‘कोर्ट म्यारिज’ गर्न अर्यालले सुझाए । २८ फागुन २०७७ मा सर्जन र सपना विवाह दर्ता गर्न वडा कार्यालय पुगेपनि उमेर नपुगेको कारण चैत्र २ गते मात्र विबाह दर्ता भएको थियो ।

    विबाह भए पनि मल्ल र विकको त्यसपछि उनीहरुको कहिल्यै भेट भएन । अर्यालले सबै चाँजोपाँचो आफैं मिलाउँछु भन्ने आश्वासन दिएका थिए । त्यसका लागि बैंक खाता चाहिने भन्दै खाता खोल्न लगाए, एक बुक चेकमा हस्ताक्षर गराए । ‘मेट लाइफ इन्स्योरेन्स’का पूर्वकर्मचारी अर्याल बीमाका सबै प्रावधानबारे पहिल्यै जानकार थिए, त्यही अनुसार उनले सपनाको सबै कागजात मिलाएका थिए ।

    योजनाबद्ध काम गरिरहेका उनले रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी कोहलपुरमा २८ फागुन २०७७ मा सर्जनको नाममा एक करोड २० लाख रुपैयाँ बराबरको सवाधिक जीवन बीमा गराएका थिए । साथै, सोही रकम बराबर २५ वर्षका लागि पर्मानेन्ट टोटल डिसाबिलिटी वेभियर बेनिफिट (पीटीडीपीडब्लूबी) गरेको सुवेदी बताउँछन् । त्यही दिन उनले सर्जनको नाममा ५ वर्ष अवधिका लागि ३० लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा, ३० लाख रुपैयाँ बराबरकै दुर्घटना बीमा पनि गराए छन् । सोही रकम बराबरको पीटीडीपीडब्लूबी बीमा पनि गराएका थिए ।

    बीमा भुक्तानीका लागि इच्छाइएको व्यक्तिमा ‘डिपेन्डेन्ट भिसा’मा अष्ट्रेलिया पठाउने भनिएकी सपना मल्लको नाम उल्लेख थियो । बीमा गराउने एजेन्ट थिए, कोहलपुरका सरदार अहमद खाँ, जो अर्यालकै साथी थिए ।

    बीमा गराएको एक महिनामा दुर्घटना

    प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुवेदीका अनुसार दुर्घटना बीमा गराएको एक महिनामै कोहलपुर–११ मा २१ वर्षीय सर्जन विक दुर्घटनामा परे ।

    अर्यालको घरमा काम गर्ने सर्जन बालुवा लोड गर्न भन्दै भे १० प १७२७ नम्बरको मोटरसाइकलमा हिँडेका थिए । फर्किएर घरतिर आउने क्रममा बैजनाथ गाउँपािलका–६, लालपुरको भित्री सडकमा उनी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आएको मिनी बसले ठक्कर दियो ।

    बैजनाथ गाउँपालिका–८ का टोपबहादुर राना क्षेत्रीले चलाएको भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिँदा सर्जन गम्भीर घाइते भए । राना फरार भए, सर्जनलाई प्रहरीले उद्धार गरेर मेडिकल कलेज कोहलपुर पुर्‍यायो । तर उपचारका क्रममा उनको मृत्यु भयो ।

    इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको अनुसन्धान गर्दा दुर्घटना स्वभाविकै देखियो, शंका गर्नुपर्ने आधार पनि थिएन । त्यहीअनुसार जिल्ला अदालत, बाँकेमा सवारी ज्यान मुद्दामा २७ वैशाख २०७८ मा दर्ता भयो ।

    सञ्जीवले नक्कली विवाह दर्ता गरेकी सपनालाई सर्जनको दुर्घटनामा मृत्यु भएको बताउँदै अष्ट्रेलिया पठाउन नसक्ने बताए । बरु उनको मृत्युवापत आउने बीमा रकमको केही भाग दिने बताए । सर्जनको नाममा गरिएको सावधिक जीवन बीमा र म्यादी जीवन बीमा बापतको २ करोड ५० लाख रुपैयाँ दाबी गर्दै अष्ट्रेलिया जाने लोभमा श्रीमती बनेकी सपनाको नामबाट इन्स्योरेन्स कम्पनीमा निवेदन पर्‍यो । पुनर्बीमा कम्पनी लिमिटेडले १४ साउन २०७८ मा बीमा वापतको रकम सपनाको खातामा भुक्तानी पनि गर्‍यो । तर खाताको सबै विवरण अर्यालको नियन्त्रणमा थियो ।

    अदालतले १० महिनापछि मुद्दामा फैसला सुनाउँदै चालक रानालाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना गराउने आदेश दियो । रोचक चाहीं दुर्घटनामा परेका मोटरसाइकलका धनी सर्जनको बीमा गराउने सरदार अहमद खाँ नै थिए, उनलाई जिल्ला अदालत, बाँकेले सफाइ दियो ।

    कसरी तुहियो योजना ?

    प्रहरीले नै दुर्घटना भनेकाले रकम भुक्तानी त भयो, तर दुर्घटनामाथि पुनर्बीमा कम्पनीका कर्मचारीलाई शंका लागेको थियो । कम्पनीका कर्मचारी स्थलगत अध्ययनमा जाँदा सर्जनको पारिवारिक स्थिति २ करोड बढीको बीमाका लागि ५ लाख ४० हजार रुपैयाँ तिर्न सक्ने अवस्थाको पनि देखिएको थिएन ।

    बीमा गरेको एक महिना पनि नपुग्दै मृत्यु हुनु पनि आफैंमा शंकास्पद थियो । बैंक विवरणको ‘केवाईसी फारम’मा उनको वार्षिक आम्दानी २ लाख रुपैयाँ भनेर स्वघोषणा गरिएको थियो ।

    एआईजी सुवेदीका अनुसार वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बीमा गर्न सक्ने प्रावधान छ ।

    ‘सबै कुरा हेर्दा मृतकले ठूलो रकमको सावधिक र म्यादी जीवन बीमा गर्नुपर्ने अन्य कारण र आधार नदेखिएपछि इन्स्योरेन्सले सीआईबीलाई खबर गर्‍यो,’ सुवेदीले भने, ‘दुर्घटना नै हुँदैछ भनेझैँ एक महिनाअघि मात्रै दुर्घटना बीमा गराएको पाएपछि सुरुमै यसमा केही छ भन्ने हामीलाई पनि लागेको थियो ।’

    सीआईबीले विशेष टोली बनाएर अनुसन्धान थाल्यो । जाँचको सुरुवात उनै मृतक सर्जनको घरबाट भयो । श्रीमती भनेर भुक्तानी लिने सपनालाई न परिवारका सदस्यले चिनेका थिए, न मृत्यु संस्कारमा नै पुगेका थिए । मृतक सर्जनको परिवारले बीमा वापतको रकम पनि पाएका थिएनन् । सवारी दुर्घटनामा कानून बमोजिम पाउने क्षतिपूर्तिवापतको ६ लाख रुपैयाँ मात्रै उनका दाइले लगेका थिए ।

    अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी भन्छन्, ‘सोधपुछका प्रथम बीमा शुल्क वापत ५ लाख ४० हजार सञ्जीव अर्यालले नै तिरिदिएको खुल्यो ।’ प्राप्त रकमबाट सञ्जीवले ८० लाख ३६ हजार रुपैयाँ लिएका थिए, दीपक केसीले ६० लाख रुपैयाँ लिएका थिए ।

    डीएसपी भण्डारीका अनुसार केसी बीमाको भुक्तानी लिन काठमाडौंमा सपनालाई लिएर आएका थिए । अर्यालले सपनाकी आमालाई १७ लाख ४६ हजार रुपैयाँ र सपनालाई ४६ लाख ८९ हजार रुपैयाँ दिएर रकम बाँडफाँट गरेका थिए । ‘अनुसन्धानका क्रममा सपनाको नाममा दर्ता बैंक खातामा भएको नम्बर पनि अर्यालको साथमा हुनुले उनमाथि शंका बढेको थियो’ एआईजी सवेदी भन्छन्, ‘बीमाको भुक्तानीको सबै काम पनि अर्याल र केसीले नै गरेको रहेछन् ।’

    सुवेदीका अनुसार घटनाका मुख्य योजनाकार अर्याल नै हुन् । उनले नै सपना मल्लसँग विवाह गराएर बिकको दुर्घटना गराएर बीमा रकम हत्याउने योजना बनाएको पाइएको सुवेदी बताउँछन् ।

    प्रहरीका अनुसार दुर्घटनामा प्रयोग भएको बसका चालक टोपबहादुरलाई अर्यालले सपनासामू विदेश लैजाने एजेन्ट भनेर चिनाएका थिए । उनले दुर्घटना गराएपछि गाडी अगाडि पछाडि गरेर सर्जनलाई किचेको उनले स्वीकारेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्यामकुमार महतो भन्छन्, ‘घाइतेलाई अस्पताल लैजानुपर्नेमा उनी स्वयम् फरार भएका थिए ।’

    प्रतिक्रिया दिनुहोस