दोलालघाटबाट बेपत्ता भएका मध्ये सिर्जनाको झाँगाझोलीमा शव फेला

Post Thumbnail
  • २०७८ माघ १३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५२१ पाठक संख्या

  • काभ्रेको दोलालघाटबाट हराएका पुरुष र महिला मध्ये नमोबुद्ध नगरपालिका ५ कि सिर्जना भण्डारी कोइराला मृत अवस्थामा फेला परेकी छन् ।

    दोलालघाटबाट पनौती नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइराला रहस्यमय ढंगले हराएका थिए। हराएका मध्ये सिर्जनाको शव सिन्धुली जिल्लाको झाँगाझोलीको सुनकोशी नदी किनारामा फेला परेको हो ।

    स्थानीयबासीले एक महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव भेटिएपछि सिन्धुली प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई यसबारे जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका डिएस्पी एवं सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए । उनका अनुसार सिन्धुलीमा भेटिएको महिलाको शव सिर्जनाको भएको र सिर्जनाका श्रीमानले उक्त शव आफ्नी पत्नीको भएको भनी सनाखत गरेको प्रहरीले जनाएको छ । सिर्जनाको शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

    माधव यही माघ २ गते र सिर्जना माघ ३ गतेबाट एक दिनको फरकमा बेपत्ता भएका उनीहरूको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको थियो । उनीहरु दुवैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका थिए ।

    बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको थियो । हराएका मध्ये सिर्जनाको शव भेटिएपनि माधवको भने कुनै अत्तोपत्तो छैन ।

    प्रतिक्रिया दिनुहोस