नेपाल प्लाईउड उत्पादक सघको २३ औं साधारणसभाले होमप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
धुलिखेलमा भएको साधारण सभाले बरिष्ठ उपाध्यक्षमा मनोज चित्लागिया, उपाध्यक्षमा सिताराम अग्रवाल, नागेश्वर राय यादव, विनय गोयल, महासचिवमा अनिल शर्मा, सचिवमा दिनेश चापागाई, कोषाध्यक्षमा जितेन्द्र बस्नेत निर्वाचित भए ।
त्यस्तै सदस्यहरुमा खेम प्रसाई, महाविर मित्रुका, अभिषेक सरावगी, सुरेश जलन, निर्शल शाह, अमृत भुषाल र उमेद बोहोरा निर्वाचित भए ।
साधारण सभाको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडूले उद्घाटन गरेका थिए ।
कार्यक्रममा उद्योगमन्त्री बडूले स्वदेशी उत्पादनलाई बढाएर उपभोग गर्ने र विदेशमा निर्यात गर्ने उद्देश्यले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम अगाडि बढाएको बताए । स्वदेशी उत्पादन बढाउने, स्वदेशमै खपत गर्ने र निर्यातमा जोड दिने गरी सरकारले नयाँ बजेटमार्फत अभिवृद्धि कार्यक्रम अघि सारेको हो, उनले भने, ‘त्यस कार्यक्रमलाई सार्थकता दिनका लागि दश वर्षे अभियान नै सञ्चालन गरेका छौं। यसले पक्कै पनि उद्योगी व्यवसायीहरूलाई सहयोग पुग्ने छ भन्ने लागेको छ।’
देशको ७ सय ५३ वटै स्थानीय तहहरूमा औद्योगिकग्राम स्थापना गर्ने गृहकार्य गरिरहेको उनले बताए। देशमा रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न यस्तो ग्रामको विकास गर्न लागिएको उनको भनाइ थियो। उनले त्यसरी उद्योग खोल्दा ४० प्रतिशत सरकारले व्यहोर्ने र ६० प्रतिशत व्यवसायीले व्यहोर्नुपर्ने बताए। उद्योग सञ्चालनका लागि जग्गामा थ्रेसहोल्ड बढाउनु पर्ने उनको तर्क थियो। उनले भने ‘उद्योग सञ्चालनको लागि हाल भएको जग्गाको मापदण्डले पुग्दैन। जग्गा लिजको अवधि पनि थप्नुपर्छ। उद्योग सञ्चालनकोलागि पहिला ३० वर्षसम्म लिजमा लिने प्रावधानलाई बढाएर ५० वर्षमा पुर्याइएको छ।’, उनले भने ।
प्रतिक्रिया दिनुहोस