२०८३ मंसिर ४, शुक्रबार  | Fri, 20, Nov, 2026

हरिबोधनी एकादशीमा बल्थलीको लड्केश्वर महादेवमा परम्परागत मेला

  • २०८३ मंसिर ४, शुक्रबार मा प्रकाशित २0 घण्टा अघि
  • ७१ पाठक संख्या

  • प्रविन अधिकारी

    हरिबोधनी एकादशीको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–११, बल्थलीस्थित कालाग्नि रुद्रपीठ लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष परम्परागत धार्मिक मेला लाग्ने गर्दछ। ठूलो एकादशीका रूपमा परिचित यस पर्वमा लड्केश्वर महादेवको दर्शन तथा पूजाआराधना गर्न काभ्रेसहित काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट श्रद्धालु भक्तजनहरू पुग्ने गर्दछन्।

    धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको यस तीर्थस्थलमा करिब ३५० वर्षअघिदेखि मेला लाग्दै आएको स्थानीय जनश्रुति छ। तत्कालीन राजा भूपतेन्द्र मल्लले पनौतीको त्रिवेणीधाम दर्शनका क्रममा लड्केश्वर महादेव, पलाञ्चोक भगवती हुँदै दोलखाको भीमसेनको समेत दर्शन तथा पूजाआराधना गरेको उल्लेख पाइन्छ। यही धार्मिक परम्परासँग जोडिँदै लड्केश्वरमा हरेक वर्ष हरिबोधनी एकादशीका दिन मेला लाग्ने गरेको बताइन्छ।

    रोशी र लड्कु खोलाको संगम नजिकै चुनढुङ्गाको प्राकृतिक पहराभित्र अवस्थित यस धामको आफ्नै विशिष्ट धार्मिक पहिचान छ। गुफाभित्र जलहरीसहित रहेको शिवलिङ्ग र गुफाको छतबाट निरन्तर झर्ने जलधारा यहाँका विशेष आकर्षण हुन्। मन्दिर परिसर नजिकै रहेको पापद्वार र धर्मद्वारसँग पनि स्थानीय धार्मिक विश्वास जोडिएको छ। ती द्वारको सानो प्वालबाट छिर्ने परम्परालाई मानिसहरूले पाप र धर्मसँग जोडेर व्याख्या गर्ने गर्दछन्।

    मन्दिर परिसरमा निर्माण गरिएको १०८ फिट अग्लो विशाल त्रिशूल र १०८ वटा शिवधाराले यस धामको आकर्षण थप बढाएका छन्। धार्मिक आस्था, प्राकृतिक संरचना र आध्यात्मिक महत्त्वका कारण लड्केश्वर क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित हुँदै गएको छ।

    हरिबोधनी एकादशीका दिन यहाँ विशेष पूजाआराधना हुनुका साथै स्थानीय महिला तथा पुरुषहरू रातभर जाग्राम बसेर भजनकीर्तन र नाचगान गर्ने परम्परा छ। यसै दिन हिन्दू धर्मावलम्बीहरूले घरघरमा तुलसीको मठ सजाएर तुलसी र भगवान् शालिग्रामको विधिपूर्वक विवाह गराउने धार्मिक परम्परासमेत निर्वाह गर्दछन्। भगवान् विष्णु चार महिनाको योगनिद्राबाट जाग्ने दिनका रूपमा मानिने हरिबोधनी एकादशीलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्त्वका साथ मनाइन्छ। लड्केश्वर धाममा एकादशीदेखि सुरु हुने पूजाआराधना तथा धार्मिक अनुष्ठान पूर्णिमासम्म जारी रहने र रुद्रीपाठसहित विशेष पूजा गरी मेला समापन गर्ने परम्परा रहेको छ।

    लड्केश्वर महादेवमा लाग्ने यस मेलाले पनौती नगरपालिका–११, बल्थलीको मात्र नभई समग्र काभ्रेपलाञ्चोक जिल्लाकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्दै आएको छ। प्राकृतिक सौन्दर्य, ग्रामीण परिवेश, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक संस्कृति बोकेको बल्थलीमा वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति रहने गर्दछ। विशेषगरी धार्मिक मेला तथा पर्वका अवसरमा यहाँ भक्तजन र पर्यटकको चहलपहल थप बढ्ने गरेको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनसँगै क्षेत्रको आर्थिक तथा सांस्कृतिक गतिविधिमा समेत योगदान पुर्‍याउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    ↑