पाँचखाल/काभ्रेपलाञ्चोकको पाँचखालस्थित एक रिसोर्टबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
पाँचखाल नगरपालिका–७, शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टमा छापा मारेर प्रहरीले ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिन बिष्टका अनुसार रिसोर्टमा विदेशी नागरिकको शंकास्पद गतिविधि भइरहेको भन्ने स्थानीयको जनगुनासोपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले अपरेसन सञ्चालन गरेको थियो।
प्रहरीले रिसोर्टका दुईवटा कोठाबाट ठूलो संख्यामा ल्यापटप र मोबाइल फोनसमेत बरामद गरेको छ। बरामद विद्युतीय उपकरणका आधारमा उनीहरू साइबर अपराध वा अवैध अनलाइन गतिविधिमा संलग्न रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।
घटनाको थप अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राविधिक विज्ञसहितको विशेष टोली माग गरिएको डीएसपी बिष्टले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट डीएसपी बिष्ट तथा प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको संयुक्त सुरक्षा टोलीले रिसोर्ट घेराबन्दी गरी चेकजाँच गरेको थियो।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको छ। उनीहरूको भिसा अवस्था, नेपाल बसाइको उद्देश्य तथा बरामद विद्युतीय उपकरणको प्रयोगबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस