२०८३ मंसिर १, मंगलबार  | Tue, 17, Nov, 2026

लक्जमबर्गका राजकुमार लुइस बेथानचोक भ्रमणमा

  • २०८३ मंसिर १, मंगलबार मा प्रकाशित ७ घण्टा अघि
  • ६५ पाठक संख्या

  • ढुंखर्क/ लक्जमबर्गका राजकुमार लुइसले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका विभिन्न स्थानको भ्रमण तथा अवलोकन गरेका छन्।

    लक्जमबर्गस्थित संस्था एईआईएनको सहयोगमा बेथानचोकमा सञ्चालित विकास परियोजनाहरूको अवलोकन गर्ने क्रममा राजकुमार लुइस बेथानचोक आएका हुन्। गाउँपालिकाले उनको स्वागत तथा सम्मान गरेको थियो।

    स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले एईआईएनको सहयोग र ग्रामीण विकास संस्थाको साझेदारीमा शिक्षा, सामुदायिक कृषि तथा महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै सहयोगप्रति आभार व्यक्त गरे।

    भ्रमणका क्रममा राजकुमार लुइसले पार्वती माध्यमिक विद्यालयको अवलोकन गरेका थिए। विद्यालयमा सञ्चालित ‘म्याग्रिड’ सिकाइ कार्यक्रम, प्रारम्भिक बाल विकास केन्द्र तथा खुला पुस्तकालयबारे उनले जानकारी लिएका थिए।

    त्यसैगरी, कृषि सिकाइ केन्द्रमा सञ्चालित अर्गानिक खेती, सिँचाइ तथा पानी तान्ने प्रविधि र सामुदायिक बीउ बैंकको समेत अवलोकन गरेका थिए।

    बेथानचोक र लक्जमबर्गको पहाडी भूभागबीच समानता रहेकाले आफू यस क्षेत्रप्रति आकर्षित भएको राजकुमार लुइसले बताएका थिए। साथै, विपद्पछिको पुनर्निर्माणमा विशेषगरी वातावरण र शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै लक्जमबर्गबाट थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए।

    एईआईएनको सहयोगमा बेथानचोकमा शिक्षा, कृषि तथा महिला सशक्तीकरणलगायतका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन हुँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    ↑