
केम्यान । केम्यान आइल्याण्डमा बसोबास तथा कार्यरत नेपाली नागरिकहरूको साझा संस्था नेपाली कम्युनिटी अफ केम्यान आइल्याण्ड्स (NCCI) ले नेपाल सरकारसमक्ष विभिन्न समस्या र माग सम्बोधन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ।
केम्यान आइल्याण्डमा कार्यरत २ हजारभन्दा बढी नेपाली नागरिकका समस्या, सरोकार तथा आवश्यकताबारे सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले संस्थाका उपाध्यक्ष प्रकाश सुवेदीले उक्त ज्ञापनपत्र प्रस्तुत गरेका हुन्।
ज्ञापनपत्रमा प्रवासमा रहेका नेपालीहरूले भोग्नुपरेका व्यावहारिक कठिनाइ, राहदानीसम्बन्धी सेवा तथा अन्य प्रशासनिक प्रक्रियालाई सहज बनाउन आवश्यक पहल गर्न आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझाउनुका साथै केम्यान आइल्याण्डमा रहेका नेपालीहरूले नेपालमा हालै गएको बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि १२ हजार अमेरिकी डलर (करिब १६ लाख रुपैयाँ) संकलन गरी नेपाल पठाएका छन्।
संस्थाका उपाध्यक्ष प्रकाश सुवेदीका अनुसार मातृभूमिमा विपत्ति आइपरेका बेला प्रवासमा रहेर पनि पीडितलाई सहयोग गर्ने उद्देश्यले नेपाली समुदायबाट उक्त रकम संकलन गरिएको हो।
विदेशमा रहेर पनि नेपालको दुःख र विपत्तिमा साथ दिन केम्यान आइल्याण्डका नेपाली समुदायले गरेको यो पहलले प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय भावनालाई प्रतिबिम्बित गरेको छ।

प्रतिक्रिया दिनुहोस