दुखिरहने रोशी क्षेत्र र यात्रा सतर्कता

  • २०८३ श्रावण ६, बुधबार मा प्रकाशित ७ घण्टा अघि
  • ३६ पाठक संख्या

  • विपि राजमार्गको चौकी डाँडा डायरी

    विपि राजमार्ग हुँदै पूर्वी नेपालसम्म यात्रा गर्ने जो–कोहीका लागि चौकीडाँडा अपरिचित नाम होइन । काभ्रेको नमोबुद्ध नगरपालिकामा अवस्थित चौकीडाँडा केवल एक भौगोलिक बिन्दु मात्र होइन, विपि राजमार्गको मेरुदण्ड हो । जब मनसुन सुरु हुन्छ तब धेरैको ध्यान चौकीडाँडा केन्द्रित हुन्छ । नागबेलीझैँ बगेको विपी राजमार्ग, वरिपरि हरियालीले ढाकेका डाँडाहरू र मौसमअनुसार फेरिने प्रकृतिका रङहरूले चौकीडाँडालाई हरेकले सम्झिने गर्दछन ।
    राजधानीबाट विपि राजमार्ग यात्रा गर्ने यात्रुहरु सहजै रुपमा भकुण्डे–नौबिसे कट्छन । चरङ्गेफेदीबाट केही अगाडीको मोड काटेपछि राजमार्गले स्वरुप बदलिन्छ । जुन ठाउँमा पुग्दा रोशी खोलाको कटानले सडक टुटेको छ त्यही ठाउँ हो, चौकीडाँडा ।
    जापानी सहयोगमा निर्माण भएको विपी राजमार्ग आफैंमा इन्जिनियरिङ र प्राकृतिक सन्तुलनको उत्कृष्ट नमुना मानिन्छ । यस राजमार्गको यात्रा केवल गन्तव्यसम्म पुग्ने माध्यम होइन, प्रकृतिसँगै अघि बढ्ने अनुभव पनि हो । चौकीडाँडा त्यो अनुभवको सबैभन्दा सुन्दर अध्याय हो, जहाँ सडक र प्रकृतिबीचको सम्बन्ध स्पष्ट महसुस गर्न सकिन्छ ।
    वर्षायाम सुरु भएसँगै पहाडी तथा दुर्गम सडक खण्डहरूमा बाढी, पहिरो र लेदो (भेलबाढी) को जोखिम अत्यधिक बढने हुँदा यो क्षेत्र जोखिमको बन्दै गइरहेको छ । विशेष गरी रोशी खोला जलाधार क्षेत्र र बीपी राजमार्गको चौकी डाँडा आसपासका सडक खण्डमा हरेक वर्ष मनसुनको समयमा सवारी आवागमन दिनहुँजसो अवरुद्ध हुने गरेको छ । एकातिर रोशी खोलाको तीव्र बहाव र अर्कोतिर माथिबाट खस्ने लेदोसहितको पहिरोले गर्दा यो सडक खण्डमा यात्रा गर्नु निकै जोखिमपूर्ण मानिन्छ । यस्तो अवस्थामा दुर्घटनाबाट बच्न, समयमै सही सूचना पाउन र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्नका लागि यात्रु तथा सवारी चालकहरूले विशेष सजगता अपनाउनु अनिवार्य हुन्छ ।

    १. पूर्वसूचना र सडक अवस्थाको जानकारी
    यात्रा सुरु गर्नुअघि नै यात्रा गर्ने सडकको वास्तविक अवस्थाबारे जानकारी लिनु सुरक्षाको पहिलो कदम हो ।

    स्थानीय प्रहरी र ट्राफिक प्रहरीको सम्पर्कः राजमार्ग अवरुद्ध छ कि खुला छ भन्नेबारे नजिकैको ट्राफिक प्रहरी पोष्ट, स्थानीय प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बरमा फोन गरेर बुझ्न सकिन्छ ।

    स्थानीय सञ्चारमाध्यम र आधिकारिक सूचनाः सडक विभाग, जिल्ला प्रशासन कार्यालय वा स्थानीय रेडियो तथा अनलाइन खबरहरूबाट सडकको ताजा स्थितिबारे अपडेट रहनुपर्छ । सामाजिक सञ्जालमा आउने अफवाहभन्दा आधिकारिक निकायका सूचनालाई मात्र विश्वास गर्नुपर्छ ।

    २. सवारी साधनको प्राविधिक तयारी
    जोखिमयुक्त सडकमा यात्रा गर्नुअघि सवारी साधन पूर्ण रूपमा दुरुस्त हुन आवश्यक छ ।

    फोकस, ब्रेक र टायरको जाँचः वर्षाको समयमा सडक चिप्लो हुने र दृश्यता कम हुने भएकाले ब्रेक, हेडलाइट, फगलाइट र वाइपरले सही काम गरेका छन्÷छैनन् पक्का गर्नुपर्छ ।

    इन्धन र अति आवश्यक सामानः सडकमा जुनसुकै बेला पहिरो गएर घण्टौंसम्म थुप्रिनुपर्ने स्थिति आउन सक्छ । त्यसैले गाडीमा पर्याप्त इन्धन, पहिलो प्राथमिक उपचार किट, केही सुक्खा खाना, खानेपानी र पावरबैंक जस्ता अत्यावश्यक सामग्री सधैं तयार राख्नुपर्छ ।

    ३. यात्राका क्रममा अपनाउनुपर्ने सावधानी
    सडकमा गाडी चलाउँदा वा यात्रा गर्दा अलिकति मात्र असावधानी भयो भने पनि ठूलो दुर्घटना हुन सक्छ ।

    लेदो र भेलबाढी आएको ठाउँमा जबर्जस्ती नगर्नेः रोशी खोला वा चौकी डाँडा क्षेत्रमा माथिबाट लेदो खसिरहेको छ वा सडकमा भेलबाढी बगिरहेको छ भने “काटी हालिन्छ” भन्ने सोच राखेर गाडी अघि बढाउनु हुँदैन । पानी र लेदोको बहावले गाडी सजिलै बगाउन वा फसाउन सक्छ ।

    सुरक्षित स्थानमा पर्खनेः पहिरो खस्ने सम्भावना भएका क्षेत्रहरूमा गाडी रोकेर बस्नु हुँदैन । पहिरोको जोखिम नभएको खुल्ला वा सुरक्षित स्थान (जस्तैः बजार क्षेत्र वा होटेल नजिक) मा गाडी रोकेर सडक खुलाउने कार्य सकिएपछि मात्र अघि बढ्नुपर्छ ।

    धैर्यता र सीमित गतिः ओभरटेक गर्न हतार नगर्ने, गाडीको गति सीमित राख्ने र अगाडिको गाडीबाट सुरक्षित दूरी कायम राख्नुपर्छ ।

    ४. सामूहिक जिम्मेवारी र समन्वय
    जोखिमको समयमा यात्रा गर्दा चालक, यात्रु र स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ । यदि सडकमा कुनै नयाँ जोखिम वा पहिरो गएको देखेमा तुरुन्त पछाडि आउँदै गरेका अन्य सवारी र नजिकैको प्रहरीलाई खबर गरिदिनुपर्छ ।

    विपी राजमार्ग हुँदै यात्रा गर्नेका लागि चौकीडाँडा केवल सडक किनारको डाँडा होइन—प्रकृतिको एक अनुपम संगम पनि हो । मनसुनमा यस क्षेत्र पहिरो र भूक्षयको जोखिमबाट पूर्ण रूपमा मुक्त छैन । वर्षेनी वर्षासँगै सडक अवरुद्ध हुने, यात्रा प्रभावित हुने र प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने अवस्था पनि देखिन्छ । यसर्थ चौकीडाँडामा सुरक्षित सडक, प्रभावकारी पहिरो व्यवस्थापन र वातावरणमैत्री पूर्वाधार विकासमा विशेष ध्यान दिन आवश्यक छ ।

    मनसुनको समयमा रोशी खोला र बीपी राजमार्ग जस्ता भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा यात्रा गर्नु आफैंमा चुनौतीपूर्ण छ । “हतार गरेर ज्यान जोखिममा पार्नुभन्दा ढिलो पुग्नु बुद्धिमानी हुन्छ”“ भन्ने मूल मन्त्रलाई ध्यानमा राख्दै, पूर्ण पूर्वतयारी, सूचनाको सही प्रयोग र धैर्यता अपनाएर मात्र यात्रा गर्नुपर्छ । जोखिमयुक्त मौसममा अत्यावश्यक कामबाहेक यात्रा स्थगित गर्नु नै सुरक्षाको उत्तम उपाय हो ।

    प्रतिक्रिया दिनुहोस