‘लुम्बिनीको जति माहात्म्य छ, नमोबुद्धको पनि त्यतिकै माहात्म्य’

  • २०८२ कार्तिक १९, बुधबार मा प्रकाशित ४ दिन अघि
  • १३४ पाठक संख्या

  • भगवान बुद्धको पूर्व अवतार दर्शनका निम्ति प्रसिद्ध तीर्थस्थल काभ्रेको नमोबुद्ध

    नमोबुद्ध/नेपाल सरकारले पर्यटकीय क्षेत्र विकासका लगि स्वयम्भूनाथ, बौद्ध, लुम्बिनीसँगै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं १ स्थित नमोबुद्ध क्षेत्रलाई राष्ट्रिय बुद्ध सर्किटमा राखेको छ । बुद्ध सर्किटमा परेपछि यहाँ बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका चीन, थाइल्याण्ड, म्यानमार, जापान, कोरिया, श्रीलङ्कालगायत देशहरुका पर्यटकको रोजाइमा पर्न थालेको छ । विदेशीमाझ परिचित नमोबुद्ध स्वदेशीमाझ अझै परिचित हुन सकेको छैन ।

    लुम्बिनीमा जन्मनुभन्दा पहिलेको जन्ममा भगवान बुद्ध नै हालको नमोबुद्ध नगरपालिका–१ र ११ को हिरण्यगिरी गन्धमादन पर्वतमा महासत्वका रूपमा रहेका बुद्धोपदेसहरूमा उल्लेख भएको पाइन्छ । भोकाएकी सुत्केरी बघिनी र ५ डमरूहरूलाई आफ्नो सम्पूर्ण शरीर अर्पण गरी जीवन उद्धार गर्नु भएको यो महादानपुण्यको दृष्टान्त विश्वभर बौद्धजगतमा लोकप्रिय छ ।

    तत्कालीन पाञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको हिरण्यगिरी गन्धमादन पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो शरीरको रगत र शरीरको मासु खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए । दरबारिया ज्योतिषले राजकुमार असाधारण व्यक्ति भएको र उनले ‘कसैको जीवनरक्षा’ का लागि स्वयंले अभयदान दिएको हुँदा राजकुमारले ‘बोधिसत्व’ प्राप्त गरेको निष्कर्ष निकालेका उल्लेख छ ।

    स्वयम्भू पुराणअनुसार राजकुमार महासत्वले बोधिसत्व प्राप्त गरेको करिब ३५ सय वर्षपछाडि सातौँ किराँती राजा जितेदस्तीको राज्यकालमा सिद्धार्थ गौतम (बुद्ध) काठमाडौँ आएका थिए भनिन्छ । सोही अवसरमा भक्तपुर, नाला, पनौती, इँटे, शङ्खेश्वरी हँदै हिरण्यगिरी गन्धमादन पर्वतमा गएका र राजकुमार महासत्वलाई अन्त्येष्टि गरिएको समाधि नजिक बसेर एक महिना ध्यान गरेका  थिए । ध्यानपश्चात् समाधिलाई तीन पटक परिक्रमा गरी नमः बुद्ध भनेर नमन गरेका (ढोगेका) थिए ।

    सोही दिनदेखि उक्त समाधीको नाम नमःबुद्ध रहन गएको भनाई छ । काठमाडौँ र रोशी उपत्यका र आसपासका नेवार नमः(नमो) बुद्धलाई नम्रा/नमुरा द्यो र स्थानलाई नम्रा/नमुरा भन्दछन् । हाल आएर प्रायः सबैले नमोबुद्ध भन्न थालेका र नगरपालिकाको नाम नै नमोबुद्ध नगरपालिका राखिएको इतिहासका अनुसन्धाता विश्वनाथ उलकले विभिन्न लेखहरुमा उल्लेख गरेका छन् ।

    नमोबुद्धमा हरेक वर्ष विभिन्न समयमा स्वदेश तथा विदेशबाट बौद्धहरूले तीर्थाटन गर्ने गरेको पाइन्छ । उत्तरी बौद्ध समुदायको तामाङ, ह्योल्मो, शेर्पा, ल्होमी, सिङ्सावा, थुदाम, भोटे, मनाङग्ये, हुम्ली, मुगाली, नुप्री, चुम्बा, गुरूङ आदि बौद्ध समुदायले ‘ताग्मो ल्हुअीज्यीन ने’ भनेर तिर्थाटन गर्ने गरेका छन् । नमोबुद्ध अर्थात् नमुरा भनेर नेवार बौद्ध समुदायमा अलग महिमा र महत्व रहेको पाईन्छ । नमोबुद्धको बारेमा महायान बौद्ध परम्पराको वाङमयमा ‘ताग्मो ल्हुअीज्यीनक्यी दो’ अर्थात् बघिनी ‘जीवनदान सुत्र बुद्धोपदेस’ तथा ‘नेपालका तीन महाचैत्यहरूको ईतिहास’ र स्वयम्भू पुराण ग्रन्थमा यो वृतान्त रहेको पाइन्छ ।

    हरेक वर्ष भगवान् बुद्धले आफ्नो स्थूल शरीर उत्सर्ग गर्नु भएको पुण्यतिथि अर्थात् कार्तिक शुक्ल पूर्णिमाको रात र भोलिपल्ट ठूलो नमोबुद्धमा ठुलो मेला लाग्ने गर्दछ । यस्ता विशेष दिनहरूमा बौद्धमार्गी तथा अन्य धर्मका अनुयायीहरुले आफ्ना दिवङ्गत परिवार, आफन्त तथा साथी सङ्गीनीको सम्झनाको साथमा मृतात्माको शान्तिको कामना गर्दै नमःबुद्धमा दीप प्रज्वलन गर्दछन् । हरेक वर्ष भाद्र कुशे–औँसी, बुबाको मुख हेर्ने दिनको तीनदिन अघि नमःबुद्धको जात्रा गर्ने मूर्तिलाई नमःबुद्ध द्योःछेँ शङ्खुफेदीबाट ल्याएर महारथ राजाको (राजकुमार महासत्वको जन्मघर) पनौती दरबारमा केही समय राखेर बाहिर डबली छेउ रहेको ताहा फल्चामा सर्वसाधारणको पूजाका लागि राखिने परम्परा रहेको छ ।

    त्यसपछि भोलिपल्ट पनौती शहरमा बाजागाजासहित परिक्रमा गरिने र फेरि नमःबुद्ध द्योःछेमा नै फिर्ता लगिने यहाँ परम्परा छ । त्यसैगरी, संस्कार र संस्कृतिका पुजारी मल्लहरुको राजमा बुद्ध धर्मको दान र राजकुमार महात्वको अभयदान, प्राणीमा सहयोग, सहानुभूति र जीवनको महत्वबारे व्यापक जानकारी दिने हेतु तथा हिरण्यगिरी गन्धमादन पर्वतसम्म हिँडेर जान नसक्नेको लागि काठमाडौँमा नमःबुद्धको बाह्र वर्षे मेला चलाइएको पाइन्छ ।

    राजकुमार महासत्वको अभयदानसहितले बोधिसत्व प्राप्त गर्नु भएकोमा सिद्धार्थ गौतम बुद्धले राजकुमारको समाधि अगाडि नमःबुद्धको महत्व तथा माहात्म्य बुझेका तिब्बतीयन बौद्धमार्गीहरूले नमोबुद्ध क्षेत्रको विकासमा ध्यान दिए । तत्कालीन श्यामपाटी सिमलचौर गाविस हुँदाका बखत उनीहरुले यस क्षेत्रको विकास थालेका थिए । सन् १९७८ मा थ्राङ्गु टाशी याङ्से गुम्बा निर्माण कार्य सुरु गरेर सन् २००८ मा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । पछिल्ला समय नमोबुद्ध चैत्यको दर्शनमा पुग्ने तीर्थालुहरु यसै गुम्बा घुम्न र फोटो खिच्न लालायित हुने गरेका छन् ।

    लुम्बिनी आएका तिर्थालुहरूलाई नमोबुद्ध पनि जानै पर्ने धार्मिक पर्यटकीय गन्तव्य बनाउँदैछौंः नगर प्रमुख कुनसाङ लामा

    धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचिन महत्व बोकेको नमोबुद्धक्षेत्र हाम्रो नगरपालिकाको पर्यटकीय स्थलको रुपमा रहेको छ । नमोबुद्ध लुम्बिनीपछिको अत्यन्तै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । यहाँ बौद्ध धर्मावलम्बीहरु अत्यन्तै श्रद्धाले दर्शनका लागि आउने गरेका छन् । नमोबुद्ध क्षेत्रमा पर्यटकको लागि आवश्यक सम्पूर्ण सुविधाहरु उपलब्ध रहेका छन्, तर पर्याप्त भने हुन सकेको छैन ।

    नमोबुद्ध तीर्थलाई पनौती र धुलिखेल दुबैतिरबाट बाटो राम्रो बनाउने योजना छ । संसारले चिन्ने र खोज्ने नमोबुद्ध चैत्यलाई व्यवस्थित गर्नु नगरपालिकाको मूल दायित्व हो । नमोबुद्धलाई लुम्बिनीपछिको प्रसिद्ध तीर्थस्थल र धार्मिक पर्यटकीय स्थल बनाउन हामी प्रदेश र संघ सरकारसँग हातेमालो गर्दैछौँ । नमोबुद्ध चैत्यको दर्शनमा आइपुगेका सबैलाई राम्रो आतिथ्यता दिनका लागि सुविधाहरु थप्ने योजनामा छौं ।

    पलाञ्चोक साप्ताहिकबाट

    प्रतिक्रिया दिनुहोस