न्याशिला फाँटको कथाः जहाँ सुनका दाना झुल्छन…

  • २०८० श्रावण १०, बुधबार मा प्रकाशित ४ महिना अघि
  • १६५ पाठक संख्या

  • – ‘के छ खबर ?’
    ० ‘अँ, एकदम ठिक छ ।’
    – ‘सबै राम्रो छ नि’
    ० ‘अँ राम्रो छ, भलो छ’
    – ‘केही गाह्रो साह्रो पो छ कि !’
    ० ‘हैन, हैन सबै राम्रो छ’
    सामान्य भेटघाटका सामान्य कुराकानीको क्रम यस्तै हुने गर्दछन् । अस्पतालमा बिरामी मृत्युसँग लडिरहेको हुन्छ । भेटनजानेले बिरामीको कुरुवालाई सोध्यो ‘के छ तिम्रो खबर ?’ जवाफ आउँछ, ‘ठिक छ ।’  झुटो बोलिरहन्छ मान्छे र भन्छ ‘ठिकै छ ।’
    सन् २०१९ को अन्त्यतिर एउटा ‘बेठिक’ ले सिंगो विश्वलाई त्रासदीमा घेरिदिन्छ । कोभिड– १९ को कहरले आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक जुनै कुनै क्षेत्र नराम्रोसँग प्रभावित भयो । २०७२ सालको भुकम्प बेहेरेका नेपाली विस्तारै लय लिँदै गर्दा पुनः कोरोनाको कहरले घाँटी अँठ्याउँछ । कतिलाई निल्छ यस्ले कतिलाई कामविहिन बनाइदिन्छ । बेखर्ची बनाइ दिन्छ । कतिको उठिबास लगाइदिन्छ । तर पनि मान्छे झुट बोल्छ र कसैले सोधे भन्छः ‘ठिकै छ ।’ यस्तै परिस्थितिले ल्याएको कहरले दिलाएको ‘ठिकै छ’ को एउटा यात्रा:
    ठमेल टु न्याशिला एक्सप्रेस 
    कोरोनाले दिएको सास्तीका अनेकौं कथाहरुको  बीच यस्तै एउटा कथा छ पनौती ८ निवासी शालिकराम बञ्जारा र उहाँका भान्जा बसन्त थापाको । कोभिड–१९ कै कारण ढुक्कले चलेको हस्तकला बेचविखनको पर्यटन व्यवसायमा पूर्ण विरामै लाग्यो । ठमेलका टुरिष्टहरुसँगको दैनिकी  एकादेशको कथा बन्न पुग्यो । 
    मानिसलाई जब विपत्तिले घेर्छ तब सबै आशाका दियोहरु एक पछि अर्को गर्दै निभ्दै जान्छ । अनि लाग्छ अब त हार स्वयंले हार मान्छ । तर आशाले जीवनमा पुनः ज्योति भर्छ । कालो मुस्लो बादलको छेउतिर चाँदीको घेरा हुन्छ भनिन्छ । यही आशा हो यही उज्यालो हो भन्ने सोचेर मामा–भान्जा ठमेलबाट पनौती ८ को न्याशिला फाँटलाई हरियाली बनाउने अठोटका साथ उहाँहरु कृषिकर्ममा होमिनुहुन्छ । उहाँहरुको कर्मरुपी गाडी ठमेल टु न्याशिला मोडिन्छ ।
    मेहेनत र पसिनासँग दरिद्रताले हार्छ । उ नतमस्तक हुन्छ र समृद्धिको पाउ पर्छ । मामा भान्जा कम्पनीमा पनि हाल दरिद्रताले फर्केर हेर्न सकेको छैन । ५ रोपनी आफ्नै अनि ५ रोपनी भाडाको क्षेत्रफलमा रहेको ७० वटा टनेलले मामा भान्जालाई झट्ट हेर्दा गोलभेंडा दिए पनि यो गोलभेंडा मात्र हैन, आशा, हो, भरोषा हो, सन्तुष्टि हो अनि अब त केही हुन्छ है भन्ने आधार हो ।
    मामा भान्जालाई लाग्थ्यो, केही नभएरै मान्छे किसान बन्छ । तर अब चेत खुलेको छ र एकै स्वरमा उहाँहरु भन्नुहुन्छः “कृषि नै जीवन हो ।”
    उहाँहरुको यी कथा भित्र एउटा गुसानो पनि छ । अब हामी आफ्नै भूमि सजाउँछौं, कृषिमै रमाउँछौं भनेर लगानी गर्दा, दिनरात मेहेनत गर्दा प्राविधिक लगायतका गतिविधिमा वडा सरकार र पालिका सरकारले गरेको व्यवहार सौतेलो झैं लाग्छ । 
    आर्मीको जागिर र ठेकेदारी छाडेर कृषि
    कर्म गर्नु मनुष्यको अधिकार हो र कर्मफल उसको अधिनमा छैन र उसको अधिकारको कुरो होईन । कर्ममा प्राप्तिको आशाले सन्तुष्टि प्राप्त नहुन सक्छ । शुरुमा शायद त्यही सन्तुष्टिबाट परै रहनु प¥यो बालकृष्णलाई । सेनामा भर्ति हुनु भएका तालिम सक्ने बित्तिकै उहाँलाई खै के लाग्यो र जागिर छाडिदिनु भयो । सेनाको जागिर छाडेर, ठेक्का–पट्टाको काम गर्नु भएकोले भुकम्पताका राम्रै कमाई गर्नु भएपनि पछिल्ला दिनहरुमा के गर्ने भन्ने पिरलोले नछाडे पछि व्यवसायिक तरकारी खेतीको सुरुवात गनुभयो बालकृष्णले । खरिबोट फाँटमा करिब ९ रोपनी क्षेत्रफलमा ६२ वटा टेनेलामा बालकृष्ण र उहाँकी श्रीमती सरस्वती श्रेष्ठ समृद्धि फलाइ रहनु भएको छ । हाल ती टनेलमा गोलभेंडा मुस्कुराइरहेको देखिन्छ । छोराछोरी राम्रो विद्यालयमा भर्ना गर्नु भएका श्रेष्ठ दम्पतीले मेहेनतको कमाइबाट चिटिक्कको घर बनाइ सक्नु भएको छ ।
    यता सरस्वती बञ्जाराको कथा पनि नौलो छैन् । तर, ४९ वसन्त देख्नु भएकी उहाँको पनि गोलभेंडासँग प्रगाढ प्रेम छ । एकै बोटमा १५÷ २० दाना गोलभेंडा टिप्ने बेला भएका छन् । एक लटमा ३० क्रेटसम्म गोलभेंडा भित्र्याउन सफल सरस्वतीले करिब ४ लाखको लगानी गर्नुभएको छ ।  उहाँको वेग गोलभेंडा उत्पादनको गतिमा मात्र रोकिएको छैन काँक्रो, सिमी, मुला जस्ता सिजनल बाली पनि लगाउँदै मनग्गे आम्दानी गर्नु हुन्छ । निर्वाहमूखि खेतिबाट आलु र धानले वार्षिक जम्मा ८०÷९० हजार दिन्थ्यो तर गोलभेडामा भाउ आए ५ देखि ७ लाखसम्म आम्दानी हुनेमा ढुक्क हुनुहुन्छ उहाँ ।
    करिब १ हजार २ सयको संख्यामा १ सय ६० जना कृषकका यस्तै आ–आफ्नै कथा छन् । सबैको एकै लक्ष्य एकै ध्येय रहेको छ । त्यो हो हरियाली समृद्धि, खेतिबाटै वैभवता ।
    न बजारीकरण न शीत भण्डार
    किसान तब मारमा पर्छ जब ऋतुका सबै याम आयामका अवयव झेल्दै बाली पाकेर बजार पठाउने बेला हुन्छ तब बजार भाउ बेतोडले ओरालो लाग्छ । यस्तै भएको छ न्याशिला फाँटका यी कृषकहरुलाई ।  आफूले फलाएको गोलभेंडाको आजको मुल्य कति कहिल्यै थाहा हुन्न । ३ दिनपछि मात्र भाउ थाहा हुन्छ । अझ फत्रक्कै त त्यसबेला पर्छ जब एक क्रेटको भाउ जम्मा २ सय आउँछ । यस्तो समस्या हुँदा किसानको उत्पादनलाई शीत भण्डारण गर्न सके राम्रो हुन्थो भन्नुहुन्छ भुवनेश्वरी तरकारी संकलन केन्द्रका रामेश्वर बन्जारा । संकलन केन्द्रमा फर्सी, काँक्रा, भ्याण्टा, चितवन, हेटौंडादेखि झापासम्म पु¥याएको र करिब एक दर्जन जनशक्तिलाई रोजगारी दिलाउन सफल भएको अनुभव सुनाउनु हुने उहाँ बजारीकरणमा स्थानीय सरकारले काम गरिदिए राम्रो हुने बताउनु हुन्छ ।
    प्राविधिक ज्ञानको अभाव 
    कतिपय किसानलाई प्राविधिक ज्ञान अभाव छ । यो कुरा ती क्षेत्रका अधिकांश किसानको भनाइबाटै पुष्टि हुन्छ । पदमप्रसाद आचार्य, महेश्वर बन्जारालगायत किसानको एकै स्वर आउँछ पहिला पहिला त नजानेर धेरै गाह्रो भयो । अहिले आफैले अलीअली यसो गर्दा होलाकि उसो गर्दा होलाकिले अलिअली जानियो तर ठ्याक्कै यसै हो भनेर जान्न सकिएको अवस्था छैन् । 
    हामीसँग ३ वटै तहका सरकार छन् । कृषिका लागि राज्यले लगानी गरेको भए पनि कृषिमा छुट्टयाइको अनुदान रकम समेत लक्षित समूहसम्म पुग्न नसक्नु, मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने निकाय कृषकका दैलोमा पुग्न नसक्नु पनि दुःखत पक्ष हो । भुकम्प र कोरोनाका कारण रोजगारी गुमाएमा मात्र हैन झन पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा पनि आधुनिक कृषि कर्ममा आकर्षित हुन थालेका छन् । बाहिरको सीप र विकासलाई स्थानीय माटोसँग जोड्न युवाहरू आकर्षित हुँदै गर्दा फलाम तातेको समयमा मार हान्न नसक्नु राज्य पक्षको कमजोरी हो । झन स्थानीय सरकारको लाचारी पन हो भन्ने आभाष हुने गुनासा किसानसँग भेटदा बग्रेल्ती सुनिन्छन् । कहिले काँही कृषिका कर्मचारी आए पनि झारा तिर्ने व्यवहार प्रस्तुत हुने किसानको गुनासो छ । प्राविधिक ज्ञान अभावले सास्ती मिलेको किसानहरु बताउनु हुन्छ ।
    मध्यमार्गको रचनात्मक समन्वय
    न्याशिला फाँट तथा आसपासमा भइरहेको कृषिकर्ममा स्थानीय मध्यमार्ग कृषि सहकारी संस्थाले सहयोग गर्दै आएको छ । पनौती नगरपालिका वडा नं. ४ र ८ का किसानलाई विभिन्न निकायसँग समन्वय गर्दै अनुदानमा बिउविजन वितरण गर्ने, ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल, हाते ट्रयाक्टर, बिषादी स्प्रे, रासायनिक मल लगायतको कृषि सामग्री उपलब्ध गराउन संस्थाले समन्वयकारी भूमिका खेलेको छ । संस्थाका अध्यक्ष प्रदिप के.सी.का अनुसार आर्थिक वर्ष २०७९÷०८० मा मात्र ७० लाख बराबरको कृषि सामग्री वितरण गरेको छ । त्यसमा ३५ लाख कृषि ज्ञानकेन्द्र तथा बागमती प्रदेश सरकार कृषि मन्त्रालयले र ३५ लाख किसानले व्यहोरेको उहाँको भनाई छ ।
    कृषिकर्ममा आकर्षण बढेको समयमा कृषि शिक्षा, कृषि अनुसन्धान, कृषि प्रचारप्रसार बिच समन्वयात्मक कार्यक्रम सञ्चालन गर्न सके किसानमा उत्साहले प्राण भर्ने थियो । आन्तरिक बजारको व्यवस्थापन, भाउ नआउँदा शीत भण्डारण गर्ने व्यवस्था, परम्परागत कृषि पेसालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण, प्राविधिक औजार तथा जनशक्तिलाई तालिम दिन सके सुनमा सुगन्ध हुने थियो । निर्वाहमुखी र परम्परागत प्रविधिलाई आधुनिक कृषि प्रणालीमा लैजान आवश्यक छ । यसको लागि स्थानीय सरकारले अझ राम्रो भूमिका खेल्न सक्ने देखिन्छ । न्याशिला फाँटमा गोलभेंडा रुपी सुनका दाना धेरै फलोस् । [ यो सामग्री सन्तोष तिमल्सिनाले तयार पार्नु भएको हो । ]
    – पलाञ्चोक साप्ताहिकबाट

    प्रतिक्रिया दिनुहोस