रासायनिक मलको जताततै हाहाकार

Post Thumbnail
  • २०७९ जेष्ठ ३१, मंगलबार मा प्रकाशित २ साल अघि
  • ९९२ पाठक संख्या

  • सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडको धुलिखेल शाखा कार्यालयले हाल प्राप्त भएका रासायनिक मलमध्येबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका सहकारीहरुलाई दामासाहीले बितरण गर्ने निर्णय गरेको छ ।

    यस निर्णयले भौगोलिक विकटता र दूरीका हिसाबले प्रत्येक सहकारीले डिएपी ५ बोरा अर्थात २५० किलो र युरिया ८ अर्थात् ४०० किलोदेखि २० बोरा अर्थात १ हजार किलोसम्म पाउने भएका छन् । पाँचखाल, पनौती, मण्डनदेउपुर, बनेपाजस्ता कृषिका लागि प्रख्यात पालिकाहरुले पाउने मलको परिमाण भाग लगाउँदा पुरै जमीनभन्दा पनि बीउ राख्ने ब्याडको टुक्रोसम्मका लागि पुग्ने अवस्था देखिन्छ ।

    यतिखेर मध्यपहाडी क्षेत्रमा धानखेती र मकैखेतीका लागि युरिया र डिएपी मलको अधिक माग रहेको छ । माग अनुसार रासायनिक मल उपलब्ध नभए पनि पालिकाहरुले बागमती प्रदेशमा पठाएको मागको आधारमा प्रदेशले छुट्याएको कोटामा समेत मल पाउन सकिएको छैन । सरकारी अनुदानको मल बेच्ने कृषि सामग्रीबाहेक काभ्रेपलाञ्चोकमा साल्ट ट्रेडिङ कम्पनी समेत रहेपनि उसको गोदाममा यी दुबै मलको एउटा गेडो पनि नरहेको अवस्था छ । सरकारी अनुदानको मलमध्ये ७० प्रतिशत कृषि सामग्री र ३० प्रतिशत परिणाम साल्ट ट्रेडिङले बेच्ने गरेका थिए ।

    कृषि सामग्रीले मंगलबारदेखि बितरण गर्न लागेको रासायनिक मल पाँचखालका ३४ वटा सहकारीलाई २७२ बोरा युरिया र १७० बोरा डिएपी रहेको छ । प्रति सहकारी ८ बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ । मण्डनदेउपुरका ३० वटा सहकारीलाई २४० बोरा युरिया र १५० बोरा डिएपी रहेको छ । प्रति सहकारी ८ बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ । पनौतीका ३१ वटा सहकारीलाई २४८ बोरा युरिया र १५५ बोरा डिएपी रहेको छ । प्रति सहकारी ८ बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ । बनेपाका ३२ वटा सहकारीलाई २५६ बोरा युरिया र १६० बोरा डिएपी रहेको छ । प्रति सहकारी ८ बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ । धुलिखेलका २१ वटा सहकारीलाई १६८ बोरा युरिया र १०५ बोरा डिएपी रहेको छ । प्रति सहकारी ८ बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ । नमोबुद्धका २२ वटा सहकारीलाई १७६ बोरा युरिया र ११० बोरा डिएपी रहेको छ । प्रति सहकारी ८ बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ ।

    गाउँपालिकाहरुमा तेमालका १९ वटा सहकारीलाई १९० बोरा युरिया र ९५ बोरा डिएपी रहेको छ । प्रति सहकारी १० बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ । रोशीका १३ वटा सहकारीलाई १३० बोरा युरिया र ६५ बोरा डिएपी रहेको छ । प्रति सहकारी १० बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ । चौरीदेउरालीका ११ वटा सहकारीलाई १६५ बोरा युरिया र ५५ बोरा डिएपी रहेको छ । प्रति सहकारी १५ बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ । भुम्लुका ८ वटा सहकारीलाई १२० बोरा युरिया र ४० बोरा डिएपी रहेको छ । प्रति सहकारी १५ बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ ।

    कृषि सामग्री धुलिखेलले ४ जिल्लालाई बाँडेको युरिया मलको रेकर्ड

    बेथानचोकका ५ वटा सहकारीलाई ७५ बोरा युरिया र २५ बोरा डिएपी रहेको छ । प्रति सहकारी १५ बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ । महाभारतका ५ वटा सहकारीलाई ७५ बोरा युरिया र २५ बोरा डिएपी रहेको छ । प्रति सहकारी १५ बोरा युरिया र ५ बोरा डिएपी भागमा पर्न आउँछ । खानीखोलामा २ वटामात्रै सहकारी रहेकाले खानीखोलाका २ वटा सहकारीलाई ४० बोरा युरिया र ४० बोरा डिएपी रहेको छ । प्रति सहकारी २० बोरा युरिया र १० बोरा डिएपी भागमा पर्न आउँछ ।

    उता, सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुका १३० वटा सहकारीका लागि १४२६ बोरो युरिया र ६५० बोरा डिएपी वितरण हुने भएको छ । यहाँ पनि बढीमा २० बोरासम्म युरिया रहेको छ भने डिएपी प्रति सहकारी ५ बोरा रहेको छ । दोलखाको सैलुङ गाउँपालिकाको ३ वटा सहकारीका लागि ६० बोरा युरिया र १५ बोरा डिएपी भागमा परेको छ । यहाँ पनि २० बोरा युरिया र ५ बोरा डिएपी प्रति सहकारीलाई भाग परेको हो । उता, रामेछापका सुनापति र दोरम्बा गाउँपालिकाका ८ वटा सहकारीका लागि युरिया १३० बोरा र डिएपी ४० बोरा भागमा परेको छ ।

    यसैवीच, साल्ट ट्रेडिङ कर्पोरेशनले १७ हजार मेट्रिक टन डिएपी मल नेपाल भित्रेको जनाएको छ । यस्तै, २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि नेपाल भित्रन थाल्ने जनाएको छ । कर्पाेरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक रासायनिक टन मल ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । कृषि सामग्रीले अहिले बिक्री गरिरहेको मल विगतकै सप्लायर्सबाट भएको र भारत सरकारसँग जीटूजीमा किन्ने भनिएको युरिया मल कहिले नेपाल भित्रन्छ टुंगो छैन । स्रोतका अनुसार मन्त्री तहमा कुराकानी र सचिव तहमा सम्झौता भएपनि कृषि सामग्री कम्पनीका अध्यक्ष र प्रबन्ध निर्देशकले खरीद सम्झौता गर्नु पर्ने भएकाले हालसम्म भएको छैन । यसै हिसाबले पनि भारतबाट आउने युरियाले हिउँदे खेतीलाई मात्र मद्दत पुग्नेछ ।

    रासायनिक मल आपूर्तिकै विषयलाई लिएर कृषि मन्त्रीको कार्यशैलीको चर्को विरोध भइरहेको छ । सत्तारुढ दलकै नेता कार्यकर्ताहरुमात्रै नभई दल आवद्ध किसानहरुसमेतले आक्रोश पोखिरहेका छन् । प्रतिपक्षी नेकपा एमालेले त संसद नै रोकेर भए पनि मलको आपूर्तिमा लाग्नुपर्ने भनि सत्तापक्षको विरोध गरेको छ । काभ्रेका किसानहरु सीमाक्षेत्रसम्म पुगेर चर्को मूल्यमा मल ल्याउन थालेका छन् भने धुलिखेल–११ पातलेखेतका किसानहरुले सीमाक्षेत्र पुगेर किनेको मलसहितको ट्रक महोत्तरीको सम्सी प्रहरी चौकीले नियन्त्रणमा लिएको भन्दै किसानले ल्याएको मल छाडिदिनका लागि मद्दत मागिरहेका छन् ।

    आजको पलाञ्चोक साप्ताहिकबाट

    प्रतिक्रिया दिनुहोस